ad

जनताको आकर्षण अहिले राप्रपातर्फ छ : अध्यक्ष थापा

नेपाल लाइभ

Nepal Live

जनकपुर– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको आकर्षण अहिले आफ्नो पार्टीतर्फ रहेको बताएका छन्।

राप्रपाको प्रदेश २ स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई आज जनकपुरमा सम्बोधन गर्दै अध्यक्ष थापाले ओली नेतृत्वको दुई तिहाईको सरकार गठन भएको ९ महिना बितिसक्दा पनि जनताको जीवनस्तरमा कुनै परिवर्तन आउन नसकेकोले जनतासँग राप्रपाको विकल्प नभएको दाबी गरे।

उनले जनताको उत्तम विकल्प आफूहरु भएको दाबी गर्दै जनता र कार्यकर्तालाई हिन्दुराष्ट्र पुनर्स्थापना र राजसंस्थासहितको प्रजातन्त्रको पक्षमा वकालत गर्न निर्देशन दिए।

उनले मुलुकमा २०६२/०६३ को आन्दोलनपछि नयाँ नेपाल बनाउने नाममा धर्म निरपेक्षता लागू गरिएको आरोप लगाए। ‘हिन्दु राष्ट्र र राजतन्त्र समाप्तीको घोषणा गरियो, गणतन्त्र स्थापना पनि भयो, तर, जनताले नयाँ नेपालको जनता भएको महशुस गर्न पाएको खै?’, थापाले प्रश्न गरे।

कार्यक्रममा प्रदेश २ अन्तर्गत ८ वटै जिल्लाका अध्यक्ष, स्थानीय तहका प्रतिनिधि र वडा प्रतिनिधि लगायत ३ सय २५ जना सहभागी छन्।

भोलि (बिहीबार) सम्म चल्ने कार्यक्रममा संगठन निर्माण तथा विस्तार, परिचालन, हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि जागरण अभियान, भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान, धर्म परिवर्तनको विरुद्धमा कडा संघर्ष र राष्ट्रिय स्वाभिमान यात्रा लगायतका विषयमा छलफल गरी फागुन ७ गतेदेखि आन्दोलन थाल्ने बताइएको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने