उद्योग समितिले गठन गर्यो ४ उपसमिति

नेपाल लाइभ | २०७५ मङ्सिर १९ बुधबार | Wednesday, December 05, 2018 १९:३३:०० मा प्रकाशित

काठमाडौं– संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ४ वटा उपसमिति गठन गरेको छ।

समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति उपसमिति, उपभोक्ता हित उपसमिति, श्रम र रोजगार उपसमिति र सार्वजनिक संस्थान उपसमिति गठन गर्ने निर्णय गरेको हो। समितिको कामलाई प्रभावकारी बनाउने उद्देश्यका साथ ४ वटा उपसमिति गठन गरिएको समितिका सभापति विमलप्रस्ताव श्रीवास्तवले जानकारी दिए।

५/५ जना सदस्य रहने उपसमितिलाई आफ्नो कार्यविधि आफैं बनाउने कार्यादेश दिइएको छ। उपसमितिको म्याद बढीमा एक वर्ष तोक्ने निर्णय गरिएको पनि समितिका सभापति श्रीवास्तवले बताए। समितिले आ–आफ्नो क्षेत्रको स्थलगत अवलोकनसमेत गरी समितिमा प्रतिवेदन पेस गर्नेछ।

बैठकमा समितिका सदस्यहरुले सरकार र संसदको कामलाई प्रभावकारी बनाउनेगरी उपसमिति गठन गर्नुपर्ने बताएका थिए। समितिका सदस्य एवम् पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सरकार र संसदको कामलाई प्रभावकारी बनाउन पनि समितिअन्तर्गत विभिन्न उपसमिति गठन गर्ने गरिएको स्पष्ट पारे।

उपसमितिलाई आवश्यक अध्ययन, अनुसन्धान गरी समितिको कामलाई प्रभावकारी बनाउन पनि सचेत गराइएको छ।