लिस्बोन – पोर्चुगलका आन्तरिक प्रशासन मन्त्री कन्स्टान्स अर्बानो डे सोउसाले राजीनामा दिएकी छिन्।
भीषण आगलागीका कारण पोर्चुगलमा ठूलो धनजनको क्षति भएकोमा कमजोरी स्वीकार गदै उनले बुधबार राजीनामाको घोषणा गरिन्।
उनको राजीनामा पत्रमा भनिएको छ, “यस्तो अवस्थामा म पदमा बसिरहन सुहाउने कुरा होइन, मेरो नैतिकता र आत्मसम्मानका लागि पनि मैले राजीनामा दिनु उपयुक्त हुने ठानेको छु । त्यसैले मेरो राजीनामालाई सबैले स्वीकार्नु हुनेछ भन्ने विश्वास लिएको छु।”
उनको राजीनामालाई प्रधानमन्त्री एन्टोनिओ कोस्टले स्वीकृत गरेका छन्। राजीनामा स्वीकृत गर्दै प्रधानमन्त्री कोस्टले मन्त्री सोउसालाई सार्वजनिक रुपमा धन्यवाद दिए।
“राजीनामा दिने सही निर्णय गरेकोमा र आफ्नोे जिम्मेबारी पूरा गर्नका लागि हरदम प्रयत्न गरेकोमा उनलाई धन्यवाद छ,” प्रधानमन्त्रीले भनेका छन्।
आगलागीपछिको संकटपूर्ण अवस्थामा व्यवस्थापन गर्न नसकेको, आगलागी नियन्त्रण गर्न नसकेको र आगलागी नियन्त्रणका लागि पूर्व तयारी राम्रोसँग नगरेको भन्दै मन्त्री सोउसाको सार्वजनिक रुपमा चर्को आलोचना भएको थियो।
गत चार महिनामा मात्रै पोर्चुगलमा भएका आगलागीमा परी एक सयभन्दा बढीको मृत्यु भएको छ।
यही आइतबार पोर्चुगलको उत्तर र मध्यक्षेत्रमा झण्डै ५०० ठाँउमा आगलागी भएको थियो । आगलागीमा परी कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टी गरेका छन्।
यो भन्दा अगाडि पेड्रोगाओ क्षेत्रमा गत जुनमा भएको आगलागीमा परी ६४ जनाको मृत्यु भएको दाबी गरिएको छ।
मंगलबार राति सयौँ प्रदर्शनकारीले राष्ट्रपति कार्यालयमा विरोध प्रदर्शन गरेका छन् । उनीहरूले मन्त्री सोउसालाई हटाउन माग गर्दै प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले आफ्नो आक्रोश र पीडा व्यक्त गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।