काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभा भवनको मर्मत संहार कार्य पूरा नहुँदा संघीय संसदको हिउँदे अधिवेसन बोलाउन ढिलाइ भएको बताएका छन्।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तत्काल संघीय संसदको हिउँदे अधिवेशन बोलाउन माग गरिरहेका बेला मन्त्री ढकालले प्रतिनिधिसभा भवनको सभा हलमा कुर्सी, माइकलगायतको मर्मत कार्य पूरा नभएकाले संघीय संसदको हिउँदे अधिवेशन बोलाउन ढिलाइ हुन गएको प्रस्ट्याएका छन्।
बुधबार सिंहदरबारमा आयोजित संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले सरकार संघीय संसदको हिउँदे अधिवेशन बोलाउने काममा विलम्ब गर्ने पक्षमा नरहेको पनि स्पष्ट पारे।
मन्त्री ढकालले पुस पहिलो साताभित्र प्रतिनिधिसभा भवन मर्मत संहार कार्य पूरा हुने र त्यसलगत्तै संघीय संसदको हिउँदे अधिवेसन आह्वान गर्ने पनि बताए। उनले संसदको हिउँदे अधिवेसनमा कानुन निर्माण प्रक्रियालाई व्यवस्थित ढंगले अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।
तर, संसद सचिवालयका प्रवक्ता राेजनाथ पाण्डेले भने ३ दिनभित्रमा मर्मतका सबै काम पुरा हुने दाबी गरे। नेपाल लाइभसँग कुराकानी गर्दै प्रवक्ता पाण्डेले भने, '३ दिनपछि मर्मत कार्यले संसदकाे नियमित काम गर्नमा कठिनाइ पुर्याउनेछैन।'
मन्त्री ढकालले सरकार संसदलाई छलेर अध्यादेशमार्फत् कानुन ल्याउने पक्षमा नरहेको पनि बताए।
मन्त्री ढकालले संघीय संसदको आगामी अधिवेसनमा संविधानसँग बाझिएका कानुन संशोधनको कामलाई उच्च प्राथमिकता दिने योजना रहेकोे पनि बताए। फागुन पहिलो हप्ताभित्र नयाँ संविधानसँग बाझिएका सबै कानुन संशोधन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। मन्त्री ढकालले संविधानको सोही व्यवस्थाअनुसार सरकारले संविधानसँग बाँझिएका कानुन संशोधन गर्ने कामलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे।
आगामी हिउँदे अधिवेसनमा साझा सूचीसँग सम्बन्धित र संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन निर्माणको कामलाई पनि प्राथमिकताका साथ अघि बढाउने मन्त्री ढकालको योजना छ।
मन्त्री ढकालले सरकार संविधानको भावना बमोजिम कानुन निर्माणको कामलाई अघि बढाउन प्रतिबद्ध रहेकोे पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।