मनाङ– मंसिरको सुरूवातसँगै हिमाली जिल्ला मनाङमा विस्तारै चिसो बढ्न थालेको छ।
चिसो बढ्न थालेसँगै यहाँका बासिन्दा जाडो छल्न जिल्ला बाहिर जान थालेका छन्। प्रायः बाह्रै महिना मनाङमा जाडो हुन्छ। मंसिर, पुस र माघमा बढी जाडो हुने हुँदा यहाँका बासिन्दा जाडो छल्न अन्यत्र सर्ने गर्छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र धारापानीका अनुसार मनाङमा चिसो बढे पनि बाह्य पर्यटक आउने क्रम भने घटेको छैन। जाडो याममा हिउँसँग खेल्न र रमाउन पाइने भएकाले चिसो मौसममा पर्यटक मनाङ पुग्छन्।
मंसिर, पुस र माघमा जाडो छल्न स्थानीयबासी भने देशका विभिन्न ठाउँमा पुग्ने गर्दछन्। स्थानीयवासी विनोद गुरुङका अनुसार पर्यटकीय यामको अन्त्यसँगै जिल्लाका होटल व्यावसायी जाडो छल्न जिल्ला बाहिर जाने गर्छन्। 'जाडो छल्न काठमाडाैं, पोखरालगायतका सहरमा जानेको संख्या बढी छ,' गुरुङले भने।
माथिल्लो भेगमा हिउँ पर्न सुरु भइसकेको छ। अब विस्तारै तल्लो भेगमा हिउँ पर्न थाल्छ। चिसो बढेसँगै यहाँको गाउँघर सुनसान र रित्तो हुने क्रम बढेको छ। विद्यालयको अन्तिम परीक्षा सकाएर शिक्षक र विद्यार्थी पनि बिदा मनाउन अन्यत्र लाग्छन्। 'गाउँमा घरकुरुवा मात्र बस्न्छन्,' चौँरीपालक किसान सुरेश थकालीले भने।
हिमाली भेगबाट भेडाबाख्रा र चौँरी बेँसी सार्ने तथा चिसो कम हुने ठाउँमा राख्ने चलन छ। चौँरीगोठ मनाङको नासो गाउँपालिकाका लेकमा राखिने तथा भेडा च्याङ्ग्रा लमजुङको बाहुनडाँडा र घनपोखरा पुर्याउने थकाली बताउँछन्।
माथिल्ला भेगमा रहेका खर्कबाट घरपालुवा पशु जिल्लाको तल्लो भेगमा सार्ने तयारीमा किसान जुटेका छन्।
अबको तीन महिना माथिल्लो भेगमा हिउँ पर्छ। अति जाडो हुन्छ। घाँस पुरै हिउँले ढाकिन्छ। त्यसैले माथिल्लो भेगमा रहेका खर्कबाट घरपालुवा पशु तल्लो भेगमा सार्ने तयारीमा जुटिसकेका छन्।
यस क्षेत्रका किसानको माथिल्लो भेग र तल्लो भेगमा गरी दुई गोठ हुन्छन्। चिसो बढेसँगै माथिल्लो भेगबाट किसानले याक, चौँरी, च्याङ्ग्रा र भेडाबाख्रा तल्लो भेगका तालगाउँ, धारापानी, दानाक्यूलगायत ठाउँमा सार्ने गर्दछन्।
मंसिर, पुस र माघमा हिमपात हुने भएकोले स्थानीयबासी चिसो मौसम सुरु हुनुअगावै दाउरा सङ्कलनमा जुट्छन्। होटल व्यवसायीले कामदार लगाएरै दाउरा सङ्कलन गर्छन्।
यो समयमा जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थामा काम गर्ने कर्मचारीले स्थानीयबासीबाट दाउरा खरिद गर्छन्। स्थानीयबासी तथा कर्मचारीलाई आफ्नो व्यक्तिगत उपयोगका लागि दाउरा सङ्कलन गर्नका लागि कुनै समस्या छैन।
कर्मचारी कार्यालयकै कामकाजमै व्यस्त हुने भएकाले दाउरा सङ्कलन गर्न भ्याउँदैनन्। त्यसैले कर्मचारीले स्थानीयबाटै दाउरा खरिद गर्छन्।
दाउरा सङ्कलन गर्नेले नियमअनुसार शुल्क तिरी दाउरा सङ्कलन गर्नुपपर्ने चामेकी धनमाया विकले बताइन्।
'शुल्क तिरी दाउरा जम्मा गर्छाैँ। दाउरा बेच्दा प्रतिभारी रु १ सय ५० लिन्छौँ। एक चट्टा दाउरा घरसम्म पुर्याइदिएको रु १० लाग्छ', उनले भनिन्। हरेक गाउँपालिकाले दाउरा सङ्कलनका लागि स्थानीयस्तरमै दाउरा सङ्कलन समिति गठन गर्दै आएका छन्।
'समितिको रोहवरमा मात्रै दाउरा सङ्कलन गरिन्छ', चामे गाउँपालिकास्तरीय दाउरा सङ्कलन समितिका अध्यक्ष अनिता लामा बताउँछिन्।
चिसो याममा स्थानीयवासीले आगो ताप्नका लागि दाउराको उपयोग गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।