काठमाडौं– आक्रामक शैलीका कारण सी जिनपीङलाई चिनियाँँ पुटिन मान्नेको संख्या धेरै छ। तर, चिनियाँँ जनता आफ्नो जीवनस्तर उकास्न महत्वपूर्ण योगदान गरेको भन्दै उनलाई २१औँ शताब्दीको ‘माओ’ को उपमा दिन्छन्।
बुधबारदेखि सुरु भएको चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनमा उनले ३ घन्टा ३० मिनेट भाषण गरे। उनले चीनको समृद्धि र विश्व राजनीति मञ्चमा राष्ट्रको उपस्थिति दह्रो बन्दै गएको जानकारी प्रस्तुत गर्दा त्यहाँ उपस्थित सबैलाई सपनामा प्रवेश गरेझैँ भएको थियो। बुधबारको भाषणपछि उनलाई अहिले कतिपयले ह्युगो चाभेजसँग तुलना गर्न थालेका छन्। चाभेज तिनै नेता हुन्, जसले राष्ट्रसंघको महासभामा अमेरिकी राष्ट्रपति जर्ज बुसलाई ‘राक्षस’ को संज्ञा दिएका थिए। चाभेज भाषणकलामा माहिर मानिन्छन्।
‘चिनियाँ सपना भनेको इतिहासको सम्मान, गतिशील वर्तमान र सुन्दर भविष्य हो,’ राष्ट्रपति सीले भाषणको अन्त्य यो शब्दबाट गर्दा कुनमिङ हलमा उपस्थित २५ सय सहभागीको तालीले सम्मेलन स्थल गुञ्जयमान भएको थियो।
सीसँगै महाधिवेशन हलमा उपस्थित पूर्व राष्ट्रपति हु जिन्ताओले वर्तमान राष्ट्रपतिको भाषण सकिएपछि आफ्नो घडी हेरेका थिए। त्यति बेला जिन्ताओको घडीमा २ सय ५ मिनेट भएको थियो। यस अवधिमा राष्ट्रपति सीले प्रमुख ५ मुद्दा प्रस्तुत गरेका थिए। के थिए, ती ५ मुद्दा? विदेशी मिडियाहरुले ती मुद्दालाई यसरी प्रस्तुत गरेका छन्।
१. आर्थिक परिवर्तन
राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक स्थिति कमजोर हुन नदिन र थप सुदृढ गर्न जनताको खर्च गर्ने क्षमता बढाउनुपर्नेमा जोड दिएका छन्। उनले सरकारी संस्थान थप ठूलो र बलियो बनाउँदै लाने घोषणा गरे। बैंकहरुको अवस्था धरासायी हुन नदिन कडा नीति अवलम्बन गरिने जनाए।
यस्तै, आर्थिक अवस्था सवल बनाउन सीमित कम्पनीको एकाधिकार तोड्ने र सबैको पहुँचलाई बढावा दिने बताए। हालै रेल बनाउने दुई कम्पनीको मर्जरले अन्य कम्पनीलाई उठ्न गाह्रो पर्ने देखिएपछि राष्ट्रपति सीले रेलवेमा उनीहरुको एकाधिकार कटौती गर्ने बताएका छन्। सरकारी संस्थानलाई मजबुद बनाउने बताएका सीले भाषणका क्रममा निजी कम्पनीको उत्थानका लागि समेत केही प्याकेजको व्यवस्था गर्ने प्रतिबद्धता दोहर्याए।
२. विदेश नीति र सैन्य आधुनिकीकरण
राष्ट्रपति सीले चीन ठूलो र शक्तिशाली राष्ट्र भएको भाषणका क्रममा २६ पटक भने। आलोचकहरुले चिनियाँ विदेश–नीति फितलो र कमजोर भनिरहेको बेला उनले चीन विश्व राजनीतिक मञ्चमा जिम्मेवार राष्ट्रको हैसियतमा प्रस्तुत हुने बताए।
उनले अन्तर्राष्ट्रिय सहकार्यलाई बढाउँदै लैजाने, विकासोन्मुख राष्ट्रको सहयोगमा बढोत्तरी गर्ने उल्लेख गरे। विश्वमा चीनको आर्थिक र राजनीतिक प्रभाव बढाउने उद्देश्यले अघि सारिएको ‘वान वेल्ट– वान रोड’ नीतिलाई तीव्रता दिने उनको भनाइ थियो।
सीले ‘साउथ चाइना सी’मा चीनले कृतिम टापु बनाउने कुरा अघि सारे। कृतिम टापु निर्माणले केही तनावपूर्ण स्थिति आउन सक्ने भन्दै उनले त्यसको समाना गर्न चीन तयार रहेको बताए। आफ्नो कार्यकालको पहिलो वर्ष चिनियाँ सेनाको पुनःसंरचना गरेका सीले सैन्य आधुनिकीकरणलाई उच्च प्राथामिकतामा राखिएको उद्घोष गरे। ‘२१औँ शताब्दीको मध्यसम्म चीन हरेक कुरामा अब्बल हुन्छ,’ सीले थपे, ‘सेना लडाइँकै लागि खडा गरिएको संरचना हो। लडाइँ भइहाले जित हात पार्नसक्ने क्षमतासहितको सेना चीनले तयार गर्नेछ।’

३. भूमि रक्षा
चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनको अघिल्लो दिन हङकङमा चीनप्रति आक्रोश प्रकट भयो। हङकङको स्टेडियममा फुटबल भइरहेको थियो। खेलअघि चिनियाँ राष्ट्रगान घन्कियो। सहभागीहरुले चीनको राष्ट्रिय झन्डा पट्टि पीठ फर्काए, जसले चीनप्रतिको आक्रोश र घृणाको झल्को दिन्थ्यो।
बेलायती साम्राज्यमा रहेको हङकङले केही प्रजातान्त्रिक व्यवहार सिकेको थियो। चीनको स्वशासित क्षेत्र बनेसँगै प्रजातन्त्र अनुभव गर्न नपाएका हङकङबासी चीनबाट स्वतन्त्रता चाहन्छन्।
उनीहरुको मुद्दाका विषयमा पनि सीले बोले। सीले हङकङमा उनीहरुलाई नै शासन गर्न दिने बताए पनि सर्त अघि सारे। ‘हङकङमा चिनियाँ राष्ट्रवादको सिद्धान्त अनुसार उनीहरुले नै शासन गर्न पाउनेछन्।’ उनले ताइवानलाई पनि चिनियाँ नियन्त्रणमा ल्याइने बताए। ‘कुनै पनि राजनीतिक संगठन, संस्थालाई चिनियाँ भूगोलबाट टुक्रिन दिने छैनौं,’ सीले यसो भन्दा कुनमिङ हलमा तालीको गडगडाहट सुनिएको थियो।
४. बलियो आन्तरिक सुरक्षा
चीनमा प्रदर्शन, दंगा वा सामाजिक सद्भाव भड्किने गतिविधि हुन नदिन सुरक्षा व्यवस्था थप कडा पारिने सीको भनाइ थियो। सामाजिक एकता मजबुद हुँदा मात्रै राष्ट्रको अखण्डता सम्भव हुने उनको तर्क थियो। ‘हाम्रो चुनौती भनेको बढ्दै गएको महँगीमा गरिब जनताको जीवनस्तर उकास्नु हो। यसमा ध्यान नदिए चीनमा द्वन्द्व बढ्ने निश्चित छ। अब गरिब जनताको जीवनस्तर उकास्न क्रियाशील हुनुपर्छ,’ उनले भने।
सीले चीनमा जातीय द्वन्द्व हुन नहुने बताए। चीनको आन्तरिक सुरक्षा बलियो बनाउन राष्ट्रिय सुरक्षा परिषदको भूमिका महत्वपूर्ण रहने बताए। ‘राष्ट्रिय सुरक्षा कसरी मजबुद बनाउने सुरक्षा परिषद्को दायित्व हो,’ उनले भने। चीनले इन्टरनेट मार्फत विश्वमा हिंसा र द्वन्द्व भइरहेको भन्दै इन्टरनेट उपयोगलाई झन् कडा गरिने बताए।
५. नयाँ युगको यात्रा
सीले चीनलाई नयाँ युगमा लैजानले प्रतिबद्धता व्यक्त गरे। विश्वकै नमूना समाजवाद चीनको हुने उनको दाबी थियो। ‘उदाहरणीय समाजवादको निर्णायक मोडमा छौं। चीन सबै जनतालाई समृद्ध बनाएर समाजवादको नयाँ युगमा प्रवेश गर्नेछ,’ उनले भने। माओले परिकल्पना गरेको र देङ सियाओ पिङले देखेको समाजवादको सपना नजिक चीन रहेको र त्यसलाई पूरा गरेरै छाड्ने उनले अठोट लिए। चीनले आफ्नै शैलीमा आर्थिक समृद्धिको लक्ष्य हाँसिल गरेकोमा सीले गर्व गरे।
‘आर्थिक विकासको मुद्दामा चीनले पश्चिमा मोडललाई कहिल्यै पछ्याएन। त्यसैले चीन आज चीन भएको छ। आफ्नो सार्वभौमिकता रक्षाका लागि अरुको सिको कहिल्यै गर्न नहुने चीनले प्राप्त गरेको महत्वपूर्ण ज्ञान हो,’ उनले भने।
पुँजीवादी युगमा माओले कल्पना गरेको समाजवाद ल्याउने उनको उद्घोष थियो। आफ्नो भूमी कसैलाई हड्प्न वा टुक््रयाउन नदिने संकल्पले उनमा कमिसारदेखि शक्तिशाली नेता देङ सियाओ पिङको झल्को देखिन्थ्यो। आफ्नो अग्रज नेतालाई सम्मान गर्दै भाषणको अन्त्य गर्ने क्रममा उनले भने, ‘चिनियाँ सपना भनेको इतिहासको सम्मान, गतिशील वर्तमान र सुन्दर भविष्य हो।’
एजेन्सीको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।