काठमाडौं- मंसिर २१ देखि नेपाली हलमा लाग्दैछ– प्रसाद। जसको प्रचारात्मक गतिविधि सुरु भइसकेका छन्।
‘अपेक्षा उच्च छ, मेहनत पनि सकेजति गरेकै छौं,' निर्देशक दिनेश राउत भन्छन्, 'दर्शकहरु फिल्म हेरेर खुसी हुनुभयो भने म सफल हुन्छु।’
नेपाली फिल्म बजारमा राउतले भनेझैं कति फिल्मले दर्शकको मन जित्न सके होलान् त? अनुमान गर्न सकिन्छ ८/१० प्रतिशत। बाँकी सबै रहर र लहडमा बनेका फिल्म छन्, जसले बक्स अफिसमा घाटाको व्यापार गर्छन् र बाहिर करोडौं व्यपारको झुटो रिपोर्ट बाँड्दै हिँड्ने गरेका छन्।
निर्देशक राउत भन्छन्, ‘म कुनै लहडमा छैन। मलाई जुन कथाले छुन्छ, त्यसलाई फिल्ममार्फत देखाउन उत्साहित हुन्छु।' चलेको ट्रेन्डलाई नै फलो गर्नुपर्छ ठान्दैनन् उनी।
उनले यसअघि ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘पर्व’ र ‘आई एम सरी’को निर्देशन गरिसकेका छन्। जसमा ‘नोभेम्बर रेन’ले उनलाई राम्रो निर्देशकको स्थानमा उभ्याउन सफल भयो भने व्यापारिक सन्तुष्टि पनि दिलायो। उनका अन्य दुई फिल्म ‘क्लासिक’ र ‘पर्व’ले पनि दर्शकमाझ रामै छाप छोड्न सफल भए। तर, ‘आई एम सरी’ले भने दर्शकसँगै निर्देशक राउतलाई पनि निराश बनायो। यसैको प्रभाव हुन सक्छ राउत भन्छन्, ‘एउटै जनरामा मात्र हिँड्नु उचित हो जस्तो लाग्दैन। त्यसैले यस पटक म केही फरक विषयवस्तुका साथ दर्शकमाझ आएको छु। व्यापारिक सन्तुष्टिका हिसाबमा नोभेम्बर रेनभन्दा सफल होला नहोला समयले बताउँछ। अपेक्षा संख्याको हैन सन्तुष्टिको हो।'
आखिर के हो त प्रसाद?
‘चलचित्र पत्रकार सुशील पौडेलको विद्यार्थी जीवनदेखि मानसपटलमा घुमिरहेको कथाको नाट्य प्रस्तुति हो फिल्म प्रसाद। जहाँ कलाकार विपीन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत लगायत उक्त कथाका पात्रका रुपमा उभिएका छन्,’ निर्देशक राउत सविस्तार वर्णन गर्छन्।
पोखरामा हुर्किएका सुशील डायरीभित्र लुकेको वास्तविक कथाले मन छोएपछि आफूलाई काम गर्न रुचि भएको उनी बताउँछन्। पुरुषकेन्द्रित, पितृसत्तात्मक समाजमा नि:सन्तान दम्पतिमाथिको हेयदृष्टि र मानसिक अन्तरद्वन्द्वको कथालाई प्रसादले देखाउने उनले बताए।
सुशीलको निर्देशन रहर

फिल्मका स्क्रिप्ट राइटर तथा पत्रकार सुशील पौडेल पनि फिल्मको प्रदर्शनको व्यग्र प्रतीक्षामा रहेको सुनाउँछन्। यो अस्वाभाविक होइन किनकि उनको फिल्म लेखनको यो नै पहिलो प्रयास हो। उनलाई विद्यार्थी जीवनमा देखेको कथामाथि कोरिएको डायरीको अंश ‘प्रसाद’ले कतातर्फ डोर्याउने हो त्यो भने फिल्म प्रदर्शनपछिको प्रतिक्रियाले बताउला।
चलचित्र पत्रकारितामा लामो समय बिताएका उनी गैरआख्यानमा लेख्न मन पराउँछन्। त्यसैले पनि फिल्मको कथा लेख्दा उति सहज नभएको बताउँछन्। पेसा पत्रकारीता भए पनि भावी योजना भने स्क्रिप्ट लेखनमा मात्र सीमित नरहने योजना छ उनको।
‘फिल्म उद्योगलाई गहन अध्ययन गरेर निर्देशनमा आउने रहर ठूलो छ। तर हतार भने पक्कै छैन,’ उनी भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।