काठमाडौं– संसदीय सुनुवाइ विशेष समितिले सरकारले सिफारिस गरेका ४ देशका राजदूतविरुद्ध उजुरी नपरेको जनाएको छ।
संसदीय सुनुवाइ विशेष समितिका उपसचिव केशव अर्यालले सरकारले भारतका लागि राजदूत सिफारिस गरेका निलाम्बर आचार्य, मलेसियाका लागि सिफारिस उदयराज पाण्डे, यूएईका लागि कृष्ण ढकाल र इजरायलका लागि राजदुत सिफारिस गरिएकी अञ्जान शाक्यविरुद्ध उजुरी नपरेको जानकारी दिए।
समितिले अब सिफारिस राजदुतहरुको योग्यता, क्षमता र कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाउने छ। समितिले राजदुतमा सिफारिस भएका व्यक्तिहरुको योग्यता, क्षमता र कार्ययोजनामा चित्त बुझे उनीहरुको नाम अनुमोदन गर्ने उपसचिव अर्यालले बताए।
संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि उनीहरुलाई राजदुत बन्ने बाटो खुला हुनेछ। कात्तिक २५ गते राति बसेको मन्त्रिपरिषद् बैठकले ४ देशका लागि राजदूत सिफारिस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।