काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा रहेको भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन्।
मोरङ जिल्लाका जनप्रतिनिधीहरुसँग आज सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री ओलीले जनताको सरकार भएकोले यसले जनता कै हितमा काम गर्ने बताएका हुन्। ‘यो जनताको सरकार हो। यसले जनताको हितमा काम गर्छ। त्यसका लागि जे जस्ता विरोध आए पनि सामना गर्न सरकार तयार छ’, प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीसमक्ष मोरङको कानेपोखरी, लेटाङ, बेलबारी, पथरीका प्रमुख, उपप्रमुखहरुले त्यस क्षेत्रको जग्गाको समस्या समाधान गर्न माग गरेका छन्। प्रधानमन्त्री ओलीले भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्मा अर्याललाई तत्कालै उक्त क्षेत्रको समस्या समाधान गर्न निर्देशन दिए।
भेटघाटमा उपस्थित रहेकी मन्त्री अर्यालले त्यस क्षेत्रको जस्तै अन्य क्षेत्रमा पनि भएका जग्गासम्बन्धी समस्या समाधान गर्न शक्तिशाली आयोग गठनको तयारी भइरहेको बताइन्।
मोरङका जनप्रतिनिधिहरुले विशेषगरी नापी गरी जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।