विश्वविद्यालय समाजलाई प्रतिनिधित्व गर्ने एक किसिमको संरचना हो। यो ज्ञान, सीप र ट्रेनिङ ग्राउण्ड पनि हो। र, भविष्यमा के गर्ने भनेर आफूलाई तयार गर्ने ठाउँ हो। यो हाम्रो जिन्दगीको निकै महत्त्वपूर्ण समय हो।
अमेरिकन विश्वविद्यालयको मोडललाई जोड्ने हो भने विश्वविद्यालयलाई एउटा संसार नै मान्न सकिन्छ। त्यहाँ अध्ययन गर्ने, रमाइलो गर्ने, डेटिङ गर्ने गर्नेजस्ता व्यवस्था सहितको एउटा पूर्ण समाज पाइन्छ। विद्यार्थीलाई विश्वविद्यालय बाहिर गइराख्नुपर्ने बाध्यता पर्दैन। उसले आफूलाई पूर्णरुपमा त्यहीँको अंग बनाउन सक्छ।
समाजलाई आवश्यक पर्ने दार्शनिक, प्राविधिक कुरा होस् वा इतिहासको व्याख्या गर्ने काम होस्, त्यसका लागि एउटा संस्थागत ठाउँको आवश्यक पर्छ। ज्ञान वा सीपको आवश्यकतालाई विकास गर्न संरचना भएको एउटा संस्था चाहिन्छ। त्यसको लागि पनि विश्वविद्यालयको आवश्यकता छ भन्न सकिन्छ। यस्ता ठाउँले सीप विकासका लागि आत्मविश्वास दिन्छन्।
युरोपतिर दसौं एघारौं शताब्दीमा विश्वविद्यालयको विकास भइसकेको थियो। त्यसले कति सीप सिकाएको छ, कति ज्ञान दिएको छ, हामी अनुमान गर्न सक्छौं। त्यसैले मानिसलाई ज्ञानदेखि सीपसम्म सिकाउन, चिन्तन गर्ने, बौद्धिक विकास गर्ने काममा पारङ्गत गराउन विश्वविद्यालय जरुरी छ।
तर, ती सबै काम गर्नका लागि प्रशस्तै अनुसन्धान हुने वातावरण चाहिन्छ। हाम्रा विश्वविद्यालयहरु यस्ता कुरामा कमजोर छन्। विज्ञान संकायतिर केही अनुसन्धान हुने गरेता पनि मानविकी संकायजस्ता समाज विज्ञानसँग प्रत्यक्ष जोडिने क्षेत्रमा अनुसन्धानको काम निकै कम हुन्छन्। हाम्रोमा संस्थागत अनुसन्धानको व्यवस्थै छैन भने पनि हुन्छ। त्यसका लागि अथाह ‘रिसोर्स’ चाहिन्छ। हामीकहाँ त्यसैको अभाव छ। पाँच वटा किताब हेरेर गरिएको अनुसन्धान वास्तवमा अनुसन्धान हुनै सक्छैन। अनुसन्धान गर्नका लागि खाने बस्नेदेखि लिएर आर्थिक सहयोग सुनिश्चित गरिदिनुपर्छ। र, प्रशस्तै साधन स्रोतको व्यवस्था गरिदिनुपर्छ। हामीकहाँ त्यस्तो छैन।
हाम्रा विश्वविद्यालयमा स्वस्थ बहस पनि कमै मात्र हुन्छ। मैले धेरै वर्ष कक्षाकोठमा बिताएको छु, स्वस्थ बहस गरिएको अनुभव कम छ। केही ताजा विषयमा कहिलेकाहीँ अनौपचारिक हिसाबले बहस हुने गर्छ। तर, त्यहाँ पनि विषयवस्तुको गहिराइमा भन्दा भावनात्मक पक्षमा बहस हुन्छ। बुद्ध नेपालमा जन्मिएका हुन् कि भारतमा भन्ने विषयमा मैले केहीपटक त्यस्तै बहस गरेको छु।
बाहिर पढेर आएका, त्यहाँको वातावरण देखेर आएका प्राध्यापकहरुले पनि यहाँ खासै राम्रो गर्न सक्दैनन्। मेरा धेरै विद्यार्थी नेपाल फर्किएपछि खुबै उत्साहित हुन्छन्। केके गर्छु भनेर योजना सुनाउँछन्। तर, सरकारले, नीतिले सहयोग नगरेपछि निराश हुन्छन्। हाम्रै विश्वविद्यालयमा राम्राराम्रा प्राध्यापकहरु नभएका होइनन्। तर, उनीहरुले नीति निर्माणमा हस्तक्षप गर्न सक्दैनन्। चलिरहेको नीतिहरुमा उभिएर राम्रो काम गर्न मुस्किल छ।
विश्वविद्यालय कस्तो, पाठ्यक्रम कस्तो हुने भन्ने विषयमा अमेरिकामा तालिम लिन जानुपर्दैन। हामी आफैंले सोचेर गर्न सक्छौं। तर, विश्वविद्यालय कस्तो बनाउने र त्यसका लागि आवश्यक नीति कस्तो बनाउने भन्ने विषयमा सरकारले एउटा समूह बनाएर स्वतन्त्र छाडिदिनुपर्छ। अनि मात्रै परिवर्तन गरेर देखाउन सकिन्छ।
यस्तै वातावरणमा पनि केही विभागहरुले राम्रो गरिरहेका छन्। तर, विश्वविद्यालयका कुनै एउटा दुईटा विभाग राम्रो हुने तर समग्र विश्वविद्यालय भने बिग्रँदै जानु भनेको राम्रो कुरा होइन। खास विभाग मात्रै नभएर, संस्थागत सुधार हुँदै आउनुपर्छ। एउटा गाउँमा कुनै एउटा परिवार धनी र राम्रो भएर समग्र गाउँको विकास हुँदैन नि, त्यस्तै हो। कुनै खास विभाग राम्रो भएको छ भने त्यसको मोडल लिएर समग्र संस्थाको विकास गर्न सकिन्छ। कोही विभागको मात्रै विकास भयो भने विद्यार्थीलाई त राम्रो होला, तर कालान्तरमा विश्वविद्यालयलाई नराम्रो असर पुर्याउँछ।
हामीले एउटा विभागको विद्यार्थीले चाहेमा अर्को विभागको कुनै पनि विषय पढ्न पाउने नीति बनाउनुपर्छ। हामी ‘इन्टिग्रेटेड’ विश्वविद्यालय बनाउने तर्फ अघि बढ्नुपर्छ। यसो गर्दा कुनै विभाग सुक्ने र कुनै विकास हुने हुँदैन। यो गर्न कुनै विभागले मात्रै सक्दैनन्, माथिबाटै नियम बनाएर गर्नुपर्छ।
विश्वविद्यालयले राज्यलाई आवश्यक पर्ने ज्ञान, सीप, प्रविधिहरुको विकास गरेर सहयोग गर्न सक्छन्। विश्वविद्यालयमा सोच्ने विचार गर्ने ठाउँ पनि हो। त्यसरी उत्पादन भएका जनशक्तिलाई सरकारले उचित भूमिका दिनेबारे सोच्नुपर्छ। कतिपय देशमा त त्यहाँका नेताहरुले सल्लाहकारहरु लिंदा विश्वविद्यालयतिर ताक्छन्। कुन विश्वविद्यालयमा को विज्ञ छन् भन्ने कुरामा ध्यान दिन्छन्। हाम्रोमा त्यस्तो हुँदैन। राम्रा मानिसलाई छनौट गर्ने परिपाटी हाम्रोमा छैन। पहिले पार्टी हेरिन्छ।
पञ्चायतकालमा जति विस्तृत रुपमा काम पनि गरिँदैन। महेन्द्रले विस्तृत योजना बनाएर काम गर्थे। उनले आफ्नो शासन टिकाउनलाई गरेको कुरालाई एकछिन बिर्सौ। तर, उनले लगानी गरेर, विदेशबाट विज्ञ ल्याएर योजना बनाएका थिए। सानोतिनो कुरामा ध्यान दिएर योजना बनाएका थिए। आन्द्राभुँडी स्पष्ट पारेर योजना बनाएका थिए। अहिले त्यस्तो तागत कसैमा देखिदैन। हो, उनले पञ्चायत शासनलाई थोपर्न योजना बनाएका थिए, तर अहिले लोकतन्त्र र गणतन्त्रलाई थोपर्न खै त लगानी गरिएको?
हाम्रा विश्वविद्यालयका चुनौतीहरु पनि छन्। सबैभन्दा ठूलो चुनौती भनेको हाम्रो विश्वविद्यालय गरिब हुनु हो। शिक्षक प्रशस्त तलब, रिसर्च, लाइब्रेरि, संरचना निर्माण कतै पनि खर्च गर्न सक्दैनन्। ज्ञानको चुनौतीचाहिँ छैन। संरचना राम्रो भयो भने बाँकी कुरा मिल्दै आउँछ।
आवश्यक परे सबै भार विश्वविद्यालयले बेहोर्न सक्नुपर्छ। त्यसका लागि ‘पब्लिक मनी’ उठाउन सकिन्छ। बाहिरका धेरैजसो विश्वविद्यालयहरु प्राइभेट पैसामै बनेका छन्। सरकारले नै दिनुपर्छ भन्ने छैन। केही परोपकारीहरुबाट पनि लिन सकिन्छ। त्यहाँचाहिँ उद्योगीहरुले पनि दिन्छन्। हामीकहाँ दिँदैनन्। किनभने त्यो रकमको सही सदुपयोग हुन्छ भन्ने यहाँ विश्वास नै छैन।
त्रिभुवन विश्वविद्यालयकै कुरा गरौं, उसले त आफैं पैसा कमाउन सक्छ। सरकारको मुख ताक्नै पर्दैन। त्यत्रो जग्गा छ। अलिकति कर्पोरेट सोच राख्यो भने भइहाल्छ। त्यसको लागि माथिको मान्छे अलि सक्रिय र सिर्जनशील हुनुपर्छ।
हाम्रा विश्वविद्यालयमा ‘रिफर्म’ गरिहाल्नुपर्ने केही कुराहरु छन्। मुख्य त संरचनाको विकासमा ध्यान दिनुपर्छ। सुविधासम्पन्न हुनुपर्छ। जसले गर्दा विद्यार्थीलाई विश्वविद्यालय जाँदा त्यो वातावरणको लोभ लागोस्।
सरकारले विद्यार्थीलाई ‘सब्सिडी’ दिएर पढाउने कुरा पनि आवश्यक छ। प्राइभेट हो भने छात्रवृत्ति बढाउनुपर्छ। होस्टेलको अध्याँरो कोठामा बसेर कसरी पठाइ हुन्छ। विश्वविद्यालय सुविधासम्पन्न हुनुपर्छ।
हाम्रो विश्वविद्यालयको अर्को कमजोर पक्ष भनेको यहाँका घटनाक्रमलाई सैद्धान्तिककरण नगरिनु हो। भारतका एकजना विद्वान आशिष नन्दीले मलाई एकपटक यहाँको क्रान्तिको सैद्धान्तिकरण नगरेर नेपाली विद्वानले क्रान्तिलाई धोका दिएको भनेका थिए। संसारमा बिरलै देखिने घटना हुँदा त्यसलाई सैद्धान्तिकरण गरेको भए त्यसको विश्वव्यापीकरण हुने थियो। हाम्रै पछिल्ला पुस्ताले पनि थाहा पाउने थिए। त्यो हामीले गर्नुपथ्र्यो। विश्वविद्यालयको मुख्य काम सैद्धान्तिकरण गर्नु पनि हो।
तर हामीले त घटना भयो र घटनाकै रुपमा रह्यो। कसैले सोध्यो भने यस्तो भएको थियो भनेर भन्न सक्छौं। तर, सैद्धान्तिक रुपमै त्यसलाई अभिलेख गर्नुपर्थ्यो।
हाम्रोमा ‘क्रिटिकल थिंकिङ’को संस्कृति पनि छैन। समालोचनाको प्रवृत्ति छैन। त्यसैले पनि सैद्धान्तिकण हुन नसकेको होला। समालोचनात्मक दृष्टिकोण विकास हुँदै आउँदा सैद्धान्तिकरण हुँदै आउँला।
(प्रोफेसर डाक्टर अरुण गुप्तोसँग किशोर दहालले गरेको कुराकानीमा आधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।