काठमाडौं (एजेन्सी)– नेइमारलाई भित्र्याएपछि खतरनाक बन्दै गएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिगको यो सिजन आफ्नो जित सतप्रतिशत निकालेको छ।
नेइमार, केलियान एमबापे र इडिन्सन काभानीको रुपमा तीन प्रभावशाली स्ट्राइकर जम्मा पारेको पिएसजीले च्याम्पियन्स लिगअन्तर्गत एन्डरलेच्ट विरुद्ध बुधबार राती भएको खेलमा ४–० को जित निकाल्यो।
यो खेलमा तीन जनै स्ट्राइकरले गोल गरे। यी तीन स्ट्राइकरका लागि पिएसजीले ४ सय २० मिलियन पाउन्ड खर्चेको छ। पिएसजीले यो सिजन खेलेको १३ खेलमध्ये १२ मा जित र १ खेललाई बराबरीमा राखेको छ भने कूल ४३ गोल गरिसकेको छ। खाएको गोल संख्या ७ मात्र छ।
बुधबार राती एन्डरलेच्ट यी तीन स्ट्राइकरकै सिकार बन्यो। एमबापेले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गरे। दोस्रो गोल काभानीले ४४ मिनेटमा गरे। नेइमारले फ्रिकिकमार्फत ६६ मिनेटमा गोल गरेका थिए।
यसअघि फ्रिकिक हान्ने विषयमा नेइमार र काभानीबीच मैदानमै झगडा परेको थियो। त्यति बेला काभानीले फ्रिकिक हानेका थिए। यस्तै, अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका एञ्जल डि मारियाले ८८ मिनेटमा गोल गरे।
समूह ‘बी’ मा रहेको पिएसजीले यो सिजन च्याम्पियन्स लिगको ३ खेलमा एक गोल पनि नखाई १२ गोल गरेर सतप्रतिशत नतिजा निकालेको छ।
यही समूहमा रहेको जर्मनी क्लब वायर्न म्युनिखले अर्को खेलमा सेल्टिकलाई ३–० ले पराजित गर्यो। समूहमा ६ अंकका साथ म्युनिख दोस्रो स्थानमा रह्यो। म्युनिखको जितमा थोमस मुलरले १७, जोसुवा किमिचले २९ र माट्स हुमेल्सले ५१ मिनेटमा गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।