लन्डन (एजेन्सी)– ६ गोल भएको नाटकिय खेलमा इटालीको रोमा क्लबले इंग्ल्यान्डको चेल्सीलाई उसैको घरमा ३–३ गोलको बराबरीमा रोकेको छ।
पहिले गोलको अग्रता लिएर पनि अन्त्यमा चेल्सी पछाडि परेको थियो। तर, इडेन हजार्डले इंग्लिस क्लबलाई हारबाट बाहिर निकालेका थिए।
बुधबार राती समूह ‘सी’ अन्तर्गतको खेलमा बराबरीमा रोकिएपछि चेल्सी समूहचरणको ३ वटै खेल जित्नबाट बञ्चित भयो। उसले ३ खेलबाट ७ अंक बटुल्यो। रोमा ५ अंकका साथ दोस्रो स्थानमा रहयो।
स्टाम्पफोर्ड ब्रिज मैदानमा डेभिड लुइसले खेल सुरु भएको ११ मिनेटमै गोल गरेका थिए। लगत्तै ३७ मिनेटमा बेल्जियम स्टार हजार्डले गोल थपेपछि चेल्सीले सुरुमै २ गोलको अग्रता बनायो। पहिलो हाफको खेल सकिन पाँच मिनेट बाँकी रहँदा म्यानचेस्टर सिटीका पूर्व खेलाडी एलेक्जेन्डर कोलारोभले गोल फर्काउँदै पहिलो हाफको खेललाई २–१ गोलमा ल्याएका थिए।
दोस्रो हाफमा रोमाले खेलमा पकड बनायो। इडिन डिज्कोले ६४ र ७० मिनेटभित्र २ उत्कृष्ट गोल गरेपछि रोमाले अप्रत्यासितरुपमा २–३ गोलले अग्रता बनायो। तर, ७५ मिनेटमा हजार्डले पुनः गोल गर्दै घरेलु टोलीको सम्भावित पराजयलाई टारेका थिए।
यही समूहअन्तर्गत अर्को खेलमा १० खेलाडीमा सिमित एफके क्वाराबागले स्पेनको बलियो टोली एट्लेटिको म्याड्रिडलाई गोलरहित बराबरीमा रोकेको छ। क्वाराबागका एनडीलोभले ७५ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि यो टोली १० खेलाडीमा सिमित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।