क्याम्प नेउ (एजेन्सी)– बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसीले युरोपियन च्याम्पियन्स लिगमा १ सय गोल गर्ने कीर्तिमान रचेका छन्। बुधबार राती क्याम्प नेउमा भएको च्याम्पियन्स लिगअन्तर्गत समूह ‘डी’ तर्फको खेलमा उनले ६१ मिनेटमा गोल गर्दै यो कीर्तिमान रचे।
घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा सिमित बार्सिलोनाले ओलम्पियाकोसलाई ३–१ ले पराजित गर्यो। स्टार डिफेन्डर गेरार्ड पिके विपक्षी डिबक्स भित्र हातले गोल हानेको आरोपमा ४२ मिनेटमा दोहोरो पहेँलो कार्ड खादैँ मैदानबाट बाहिरिन बाध्य भए। त्यसयता दोस्रो हाफको पुरै खेल बार्सिलोनाले १० खेलाडीमा सिमित भएर खेल्नु पर्यो।
बार्सिलोनाले पहिलो गोल नै १८ मिनेटमा डिमिट्रिस निकोलाउको आत्मघाती गोलबाट उपहार स्वरुप पाएको थियो। तर, पाँच पल्टको युरोपेली च्याम्पियन बार्सिलोनाले पहिलो हाफ समाप्त हुन केही समयअगाडि पिकेलाई गुमाएपछि खेल के हुने भन्ने आशंका उब्जिएको थियो।
दोस्रो हाफमा मेसीले आफ्नो अस्वभाविक खेलले पुनः सबैलाई चकित पारे। उनले फ्रिकिकमार्फत गोल गर्दै विपक्षी टोलीलाई हतोत्साही पारे। डिबक्स नजिकैबाट उनले प्रहार गरेको फ्रिकिक ओलम्पियाकोसका गोलकिपरको ग्लोब्समा लागेर गोल भएको थियो। अर्को गोल ६४ मिनेटमा मेसी कै पासमा लुकास डिग्नेले गरे।

पहिलो हाफमा आत्मघाती गोल गरेका निकोलाउले ८९ मिनेटमा हेडिङ गोल गर्दै पहिले आफूले गरेको गल्तीको क्षतिपूर्ती तिर्ने प्रयास गरेका थिए। तर, ओलम्पियाकोसको खेलमा फर्किने सम्भावना लगभग समाप्त भइसकेको थियो।
बार्सिलोनाले ३ खेलमा सबै जितेको छ। यही समूहको अर्को खेलमा युभेन्ट्सले मारियो मान्डजुकिकको हेडिङ गोलको सहयोगले स्पोर्टिङ लिस्बनलाई २–१ गोलले पराजित गरेको छ। टुरिनमा भएको खेलमा घरेलु टोलीका एलेक्स सान्ड्रोले १२ मिनेटमा आत्मघाती गोल गरेपछि युभेन्ट्स सुरुमै एक गोलले पछि परेको थियो।
तर, त्यो स्थितिलाई उल्ट्याउँदै युभेन्ट्स खेल जित्न सफल भयो। युभेन्ट्सका लागि मिरालेक पाज्निकले २९ मिनेटमा बराबरी गोल गरेका थिए। उनले कर्लिङ फ्रिकिकमार्फत गोल गरेका थिए। निर्णायक गोल मान्डजुकिकले गरे। युभेन्ट्स ३ मध्ये २ खेल जितेर ६ अंकका साथ दोस्रो स्थानमा उक्लियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।