काठमाडौं– मिस वल्र्ड २०१८ को आसलाग्दो प्रतिस्पर्धी शृंखला खतिवडा शनिबार राति भएको ‘हेड टू हेड च्यालेन्ज’को दोस्रो चरणबाट बाहिरिएकी छन्। पहिलो चरणको च्यालेन्जमा समूह विजेता बन्दै दोस्रो चरणमा पुगेकी शृंखला सिंगापुरकी भेनसा पेहसँग पराजित भएकी हुन्।
च्यालेन्जको दोस्रो चरणअन्तर्गत दुई प्रतिस्पर्धीहरुले तोकिएका निर्णायक समक्ष आ–आफ्नो प्रस्तुति दिएर आकर्षित गर्नुपर्ने थियो। तोकिएको ९० सेकेन्डको आफ्नो प्रस्तुतिले निर्णायकको मन जित्न सके उक्त चरणमा छनौट हुन सक्ने भएपनि शृंखलाले कुनैपनि निर्णयकको मन जित्न सकिनन्। सबै ३ निर्णायकले सिंगापुरकी सुन्दरीलाई रोजेका थिए।
उनले प्रतिस्पर्धामा जित हासिल गर्न नसकेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई भोट गर्ने तथा साथ दिने शुभचिन्तकहरुलाई भिडियो सन्देश जारी गर्दै धन्यवाद दिएकी छिन्। ‘हामीलाई ९० सेकेन्डभित्र आफ्नो विचार राख्न भनिएको थियो। सोहीअनुसार म अगाडि बढें। तर, मैले बीचमा केही लाइनहरु छुटाएछु, त्यो कुरा मलाई भिडियो हेरेर मात्र थाहा भयो।’, आफ्नो कमजोरी बताउँदै शृंखलाले भनेकी छिन्, ‘मलाई जतिले साथ र सहयोग गर्नुभयो त्यसको लागि धेरै–धेरै धन्यबाद दिन चाहन्छु। यस चरणको प्रतिस्पर्धामार्फत म उत्कृष्ट ३० मा पर्न सकिन त्यसप्रति म क्षमा माग्न चाहन्छु।’
शृंखलाले सिंगापुरकी प्रतिस्पर्धी र आफ्नो प्रस्तुतिलाई तुलना गर्दा प्रतिस्पर्धी भेनसा पेहको प्रस्तुतिनै उत्कृष्ट रहेको बताउँदै आफ्ना सम्पूर्ण समर्थकहरुलाई नकारात्मक प्रतिकृया नदिन आग्रह गरेकी छन्। उनले फुटबल प्रतियोगिताको उदाहरण दिँदै भनेकी छन्, ‘जसरी फुटबल प्रतियोगितामा एक समूहले अर्को समूहलाई हराउँछ र त्यसैमा चित्त बुझाउनु पर्दछ त्यसैगरी यस प्रतियोगितालाई पनि स्वभाविक रुपमा लिइदिनुहोला। सिंगापुरलाई पनि नकारात्मक टिप्पणी नगरी दिनुहोला।’
शृंखलाले जारी गरेकाे भिडियो सन्देश:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।