रोल्पा– पूर्वी रोल्पाको लुङ्ग्री गाउँपालिका–१ पाङ्कीका१६ वर्षीया जानकी विष्ट र १७ वर्षीय शक्तिराम रोका दुई वर्षअघि प्रेम बन्धनमा बाँधिए। उनीहरुको प्रेम सम्बन्ध केही समयपछि शारीरिक सम्बन्धमा परिणत भयो।
_x000D_
_x000D_
गाउँकै एक माध्यमिक विद्यालयको कक्षा–९ मा पढ्दै गरेकी जानकी गर्भवती भएसँगै उनीहरुले प्रेम सम्बन्धलाई विवाहमा रूपान्तरण गर्ने निर्णयसहित यही मङ्सिर १ गते घरबाट भागे।
_x000D_
_x000D_
मङ्सिर ५ गते विवाहको तयारी गरिरहेको बेला बालविवाह भएको भन्दै गाउँलेले प्रहरीमा खबर गरे। ईलाका प्रहरी कार्यालय सुलिचौरले केटाकेटी तथा केटाका अभिभावकलाई समातेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा पेस गर्यो।
_x000D_
_x000D_
जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलको अगुवाइमा भएको छलफलपछि हाल केटालाई सात हप्ताको तारेख रहने गरी र केटीसँग भेटघाट गर्न नपाउने सर्तमा मिलापत्र भयो।
_x000D_
_x000D_
जानकीबाट जन्मने बच्चाको रेखदेख र भरणपोषण समेत शक्तिरामले गर्ने गरी दुवै पक्षको सहमतिमा हाल विवाह गर्न नपाउने गरी छोडिएको थियो।
_x000D_
_x000D_
अहिले जानकी गर्भवती अवस्थामा बुबा आमासँग बस्न बाध्य छिन् भने शक्तिराम साप्ताहिक रूपमा जिल्ला प्रहरी कार्यालयमा तारेख लिइरहेका छन्।
_x000D_
_x000D_
कानुनको अनभिज्ञताले बालविवाह गर्ने विष्ट र रोका प्रतिनिधि पात्र मात्र हुन्। जिल्लामा यसरी विवाह गर्ने जोडीको संख्या ठूलो छ। जिल्लामा हुने विवाहमध्ये अधिकांश विवाह उमेर नपुगेरै हुने गरेका छन्।
_x000D_
_x000D_
चेतनाको अभाव तथा परम्परागत मूल्यमान्यताका कारण अझै पनि ठूलो संख्यामा बालविवाह भइरहेको बताइन्छ। कानूनअनुसार २० वर्ष उमेर नपुग्दै गरिने विवाहलाई गैरकानूनी मानिए पनि उजुरीको संख्या भने निकै कम देखिने गरेको छ।
_x000D_
_x000D_
जिल्ला प्रहरी कार्यालय रोल्पामा आर्थिक वर्ष ०७३/०७४ मा बालविवाहका दुईवटा उजुरी परेको थियो। आव ०७४/०७५ मा यो संख्या घटेर एउटा मात्रै मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय रोल्पा मुद्दा फाँटले जानकारी दिएको छ।
_x000D_
_x000D_
जिल्ला स्वास्थ्य कार्यालयको अभिलेखमा गर्भवती जाँच गराउनेमध्ये ठूलो संख्याका किशोरी २० वर्षमुनिका देखिएका छन्। अघिल्लो आवको सात महिनाको तथ्याङ्कमा यसरी गर्भवती स्वास्थ्य जाँच गर्ने २० वर्षमुनिका किशोरीको संख्या ४ सय ७८ रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका वरिष्ठ अनमी नैना डाँगीले जानकारी दिए।
_x000D_
_x000D_
'सो अवधिमा भएका गर्भपतनमध्ये २६ वटा गर्भपतन त २० वर्षमुनिका किशोरीले गराएका छन्', अनमी डाँगीले भने। त्यसो त अस्थायी साधन प्रयोगकर्ता किशोरीको संख्या पनि बढ्दै गएको देखिएको छ।
_x000D_
_x000D_
सबै प्रकारका अस्थायी साधन प्रयोग गर्ने २० वर्षमुनिका किशोरीको संख्या ५ सय ५३ रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ।
_x000D_
_x000D_
जिल्ला स्वास्थ्य कार्यालयको यो तथ्याङ्कले जिल्लामा बालविवाहको रूप भयावह देखिए पनि जिल्ला प्रहरी कार्यालयसम्म आइपुग्ने उजुरी भने नाम मात्रैको छ।
_x000D_
_x000D_
'बालविवाह गर्नु गैरकानूनी हो भन्ने जनतामा चेतना नहुँदा उजुरी कम परेको हुनसक्छ, बालविवाहका उजुरी परे पनि गाउँमै मिलापत्रमा टुङ्ग्याइने चलनले पनि प्रहरीसमक्ष यस्ता उजुरी निकै कम आइपुग्छन्', महिला अधिकारकर्मी श्रीकुमारी रोकाले भनिन्।
_x000D_
_x000D_
जिल्लामा बालविवाह न्यूनीकरणका लागि विभिन्न प्रयाससमेत भइरहेका छन्। आमा समूह र बाल क्लबले पनि यस्ता विवाह न्यूनीकरणमा चासो देखाउन थालेका छन्।
_x000D_
_x000D_
यसैगरी जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी एकाइले नियमितरूपमा जनताको सहभागितामा बालविवाह न्यूनीकरणसम्बन्धी चेतनामूलक कार्यक्रम गरिरहेको छ।
_x000D_
_x000D_
संयुक्त राष्ट्र संघीय जनसंख्या विकास कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले पनि जिल्लाका विभिन्न गाउँपालिकामा किशोरी शिक्षा सञ्चालन गरिरहेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।