बेइजिङ- चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन (कांग्रेस) बुधबार बिहान चीनको राजधानी बेइजिङमा सुरु भएको छ।
बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि पिपुलमा विशेष समारोह र सुरक्षा व्यवस्थाका साथ सो महाधिवेशन सुरु भएको हो।
विशेष रुपमा सिँगारेर अति आकर्षक बनाइएको ग्रेट हल अफ दि पिपुलमा महाधिवेशन सुरु गर्नुअगावै चीनभर सुरक्षा व्यवस्था कडा पारिएको थियो। महाधिवेशनको उद्घाटन सत्रको चाइना नेशनल रेडियो, चाइना सेन्ट्रल टेलिभिजन र चाइना रेडियो इन्टरनेशनलले प्रत्यक्ष प्रसारण गरेका थिए।
प्रत्येक पाँच वर्षमा हुने यस महाधिवेशनको चिनियाँ राष्ट्रपति सि चिनफिङले उद्घाटन गरे। उनले सो उद्घाटन सत्रको नेतृत्व गर्दै आफ्नो कार्यकालको उपलब्धि पनि सुनाए। राष्ट्रपतिले उक्त महाधिवेशनको उद्घाटनलगत्तै सम्बोधन गरेका थिए।
उक्त कांग्रेसमा सहभागिताका लागि चीनका विभिन्न भागबाट जम्मा २ हजार २८७ जना प्रतिनिधि सहभागी भएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको नेशनल कंग्रेस हरेक पाँच वर्षमा बस्ने गर्छ। नेशनल कंग्रेस चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च निकाय हो। यसलाई सो पार्टीको एक महत्वपूर्ण एवम् शक्तिशाली अंगका रुपमा लिने गरिन्छ।
यसले आगामी पाँच वर्षका लागि कम्युनिस्ट पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीले आगामी पाँच वर्षमा गर्नुपर्ने कामहरुको योजना पनि पारित गर्ने गर्दछ। चीनका वरिष्ठ नीति निर्माता रहने पार्टीको पोलिटब्युरो स्थायी समितिमा पनि नेताहरु चयन गर्ने काम सो महाधिवेशनले गर्नेछ।
उक्त पोलिटब्युरोमा कोको रहनेछन् भन्ने बारेमा पनि आउँदो साता यसै महाधिवेशनले अन्त्यतिर चयन गर्नेछ।
यस महाधिवेशनले आगामी कार्यकालका लागि कम्युनिस्ट पार्टीका नेताहरु छान्नुका साथै थप नीतिहरु पनि निर्माण गर्नेछ। यस पार्टीका आगामी कार्यक्रम र नीतिहरुका बारेमा पनि महाधिवेशनमा व्यापक मात्रामा छलफल हुने बताइएको छ।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।