काठमाडौं- विदेशमा रहेका नेपालीहरुलाई नेपालको हरेक निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था मिलाउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास विभागले प्रमुख निर्वाचन आयुक्तलाई आज ज्ञापनपत्र बुझाएको छ। प्रवास विभागका प्रमुख विजय खड्काको नेतृत्वमा निर्वाचन आयोग पुगेको प्रतिनिधिमण्डलले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई ज्ञापनपत्र बुझाएको हो।
_x000D_
_x000D_
ज्ञापनपत्र बुझ्दै यादवले विदेशमा रहेका लाखौं नेपालीहरुलाई मतदानमा संलग्न गराउनको लागि निर्वाचन आयोग अत्यन्तै सकारात्मक रहेको र नेपाल सरकारले आवश्यक कानुन निर्माण गरेपछि सोको लागि निर्वाचन आयोगले गर्नुपर्ने कार्यहरु थालिने बताए।
_x000D_
_x000D_
ज्ञापनपत्रको पूर्णपाठ
_x000D_
मतदानको अधिकार प्रत्येक वालिग नागरिकको मौलिक तथा संविधान प्रदत्त अधिकार हो । हरेक आवधिक निर्वाचनमा आफ्नो मत जाहेर गर्न पाउने प्रत्येक नेपाली नागरिकको नैसर्गिक अधिकार हो । तर अध्ययन वा पेशाको लागि वाध्यतावश नेपालको हालको अवस्थामा करिब चालिस लाख नेपाली वैदेशिक रोजगारीका क्रममा विभिन्न १२२ मलुकमा कार्यरत रहेको आँकडा छ । त्यसरी कुल मतदाता संख्याको उल्लेख्य र सचेत नागरिकको ठूलो हिस्सा मतदान गर्नबाट बञ्चित रहेको कटु यथार्थ हो । त्यसै वास्तविकतालाई दृष्टिगत गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान सभाको निर्वाचन देखि नै सार्थक निर्वाचनको लागि विदेशमा रहेका चालिस लाख नेपालीहरुलाई मतदानमा सहभागी गराउनको लागि जोडदार रुपमा माग राख्दै आएको कुरा स्मरण गराउँदछु । विश्व सन्दर्भलाई नियाल्दा विश्वका अन्य ११५ देशले पनि आप्रवासी कामदार समेतलाई मतदानको व्यवस्था मिलाएको देखिन्छ । सूचना प्रविधिको उच्चतम विकास र त्यसको सदुपयोगबाट विदेशमा रहेका नेपालीलाई समेत यो सुविधा दिन सम्भव देखिन्छ । त्यसमा पनि संघीय र प्रदेश निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरिरहेको अवस्थामा विदेशमा रहेका आफ्ना नागरिककलाई विना भेदभाव मतदानको अधिकार प्रदान गर्न लोकतान्त्रिक सरकार र संवैधानिक अंगको प्रमुख कर्तब्य पनि हो ।
_x000D_
_x000D_
यसै सन्दर्भमा गत २०७४ चैत्रमा सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीहरुले पनि स्वदेशको निर्वाचन मतदाता हुन पाउने भनि गरेको परमादेश युगान्तकारी रहेको छ । त्यस बमोजिम आवश्यक अध्ययन, कानुन निर्माण, श्रोत व्यवस्थापन लगायतका काम अहिलेदेखि नै शुरु गर्न सकिएमा विदेशमा रहेका नेपालीले पनि आगामी चार बर्षपछि हुने निर्वाचनमा मतदान गर्ने अवसर सुनिश्चित हुनेछ ।
_x000D_
उपरोक्त सम्बन्धमा नेपालको संविधानको भावना, विदेशमा रहेका नागरिकको आफ्नो प्रतिनिधि छान्ने तिव्र अभिलाशा, नागरिकको मौलिक अधिकार तथा सर्वोच्च अदालतको आदेशलाई दृष्टिगत गर्दै प्रवासमा रहेका नेपालीहरुले आगामी निर्वाचनहरुमा मतदान गर्न पाउने अधिकार यथासिघ्र सुनिश्चित गर्न आवश्यक तयारी समयमा नै गर्नका लागि नेपाल सरकार र निर्वाचन आयोगलाई आग्रह गर्दै राप्रपा, प्रवास बिभागको तर्फबाट यो ज्ञापन पत्र पेश गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।