काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले कमल थापा नेतृत्वको राप्रपालाई मन्त्रिपरिषदमा सामेल गर्दै माओवादी केन्द्रका मन्त्रीलाई बिनाविभागीय बनाउने तयारी गरेपछि माओवादीले आफ्ना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने बताएको थियो । तर, मंगलबार नै सरकारबाट बाहिरिने बताएका माओवादी मन्त्रीहरु एकाएक सरकार नछाड्ने निर्णयमा पुगेका छन् । निर्वाचन आयोगबाट सरकारले चुनाव सार्ने तयारी गरिरहेको सूचना पाएको भन्दै गृहमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन गरी तत्काल सरकार नछोड्ने बताए। गृहमन्त्रालयमा भएको पत्रकार सम्मेलनमा गृहमन्त्री शर्माले पत्रकारका प्रश्नमा यस्तो जवाफ दिए:
सरकारबाट हट्ने कुरा चलिरहेका बेला एकाएक नहट्ने निर्णय किन आयो?
हामी सरकारबाट हट्ने पक्षमा थियौं। बिहान प्रधानमन्त्रीसँग बालुबाटारमा भएको छलफलपछि सरकारबाट बाहिरिने निर्णय गर्न हाम्रो पार्टीको बैठक समेत बसेको थियो। बैठक चलिरहेको अवस्थामा अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्ने तयारी गरेको सूचना आएपछि यस्तो निर्णय लिइएको हो।
सरकारबाट फिर्ता आउने भनी विज्ञप्ति तयार गरिरहेको अवस्थामा यस्तो निर्णय गर्नुपरेको हो । सरकारले मनोनयन दर्ता भएपछि निर्वाचन सार्ने तयारी गरेको पुष्ट जानकारी आएपछि हामी सरकार नछोड्ने मोडमा पुग्यौं।
किन ‘यु टर्न’?
हाम्रो मुख्य जिम्मेवारी भनेको निर्वाचन गर्ने थियो। त्यही जिम्मेवारी पूरा गर्न हामी सरकारमा गएका थियौं। निर्वाचन सम्पन्न हुने निश्चिन्त भएमा सरकार छोड्ने तयारी हाम्रो थियो । तर, त्यही नहुने भएपछि यसमा ठूलो समस्या पैदा हुन्छ भनेर यस्तो निर्णय गरिएको हो। अहिलेलाई यति बुझ्दा हुन्छ, सरकार छोड्ने हाम्रो तयारी स्थगित भएको छ।
कसरी र कहाँबाट आयो निर्वाचन सार्ने सूचना?
हाम्रो बैठक चलिरहेको समयमा निर्वाचन आयोग मार्फत निर्वाचन सार्न प्रस्ताव गएको सूचना अध्यक्ष दाहाललाई आएको हो। प्रधानमन्त्री देउवाले दुवै तहको निर्वाचन अनिश्चित समयका लागि सार्न खोजेको भन्ने सूचना आएको हो। निर्वाचन अयोग मार्फत यो सूचना आएपछि हामीले सरकारबाट फिर्ता हुने निर्णय स्थगित गरेका हौं।
तपाईंहरु सबै मिलेर निर्वाचन नगर्ने खेल त होइन नि?
यसमा हामी संलग्न छैनौं। निर्वाचन हुनुपर्छ भन्ने हाम्रो माग हो। हामी निर्वाचनका पक्षमा छौं। निर्वाचन गर्ने दायित्वका साथ हामी सरकारमा गएका हौं। त्यसलाई कुनै पनि अवस्थामा पूरा गर्नुपर्ने हाम्रो माग छ। प्रधानमन्त्रीले बिनाविभागीय बनाउँछन्, छिटो हट्नुस भनिरहेको अवस्थामा हामी बस्न चाहेका थिएनौं। तर, अब सरकारमा बस्नै पर्ने वाध्यता आइपर्यो। अहिले पनि प्रधानमन्त्रीले निर्वाचन सम्पन्न गर्ने ग्यारेन्टी गर्नु हुन्छ भने हामी सरकारबाट हट्न तयार छौं।
लिखित रुपमा प्रधानमन्त्रीले निर्वाचन गर्ने प्रतिबद्धता जनाए के गर्नु हुन्छ?
त्यसको कुनै सम्भावना म देख्दिनँ। पहिला त्यो आउनुपर्यो, अनि मात्र पत्याउने हो।
विपक्षीसँग गठबन्धन बनाएपछि तपाईंहरुको नैतिकता होइन, सरकार छाड्नु पर्ने?
हामी निर्वाचन गर्ने नैतिकताका साथ सरकारमा आएका हौं। त्यसमा अडिग छौं। त्यही नैतिकता कायम गर्न हामी सरकार नछाड्ने निर्णयमा पुगेका हौं।
तपाईको सूचना अनुसार निर्वाचन कहिले सार्ने तयारी रहेछ त?
त्यो मलाई जानकारी छैन। जति जानकारी पाएको थिएँ, त्यो मैले भनिसकें।
तपाईंहरुले प्रोपोगान्डा गर्नु भएको हो कि?
तपाईंलाई प्रश्न गर्ने अधिकार छ। त्यसमा सत्यता छैन। सरकारमा रहिरहनका लागि हामीले यसो गरेका होइनौं। हामी सरकारका लोभी छैनौं।
पार्टीलाई त्यसको आवश्यकता पनि छैन। तर। जनताको आवश्यकतालाई बाधा पु¥याउने कुरामा हामी सहमत हुन सक्दैनौं। जनताको आवश्यकता निर्वाचन हो, त्यसलाई बाधा हुन दिदैनौं। हामी जनताप्रति उत्तरदायी भएकाले यस्तो निर्णय गर्न वाध्य भएका हौं।
मैले आफूसँग भएको सूचना सार्वजनिक गरेको हुँ। बाँकी कुरा भोलिका दिनमा खुल्दै जानेछन्। प्रधानमन्त्रीले चाल्ने कदम बारे हामीले अनुमानका भरमा बोलेका होइनौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।