अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले 'अमेरिका फस्ट' अन्तर्गत वैदेशिक सहायता कटौती गर्ने नीति लिए। ट्रम्पको सहायता कटौतीको घोषणा कतिपय विकासोन्मुख राष्ट्रका लागि घातक हुने जानकारहरुले बताए। अमेरिकाले सहायता कटौती गरेपछि चीनले सहायता बढाएको छ। विश्वको ठूलो दाता मुलुकको सूचीमा रहेको अमेरिकालाई हटाएर आफ्नो नाम सूचीकृत गर्ने लक्ष्य छ चीन।
एड डाटाका विश्लेषक समान्था कष्टरका अनुसार आर्थिक रुपमा समृद्ध बन्दै गएको चीन आफ्नो सहायता फैलाउने अभियानमा लागेको छ। उनका अनुसार चीनले सहायताको रफ्तार बढाए अमेरिकालाई सूचीबाट हटाउने निश्चित छ। 'अमेरिकाले सहायतामा भाती कटौती गरे उसैलाई घाटा छ। चीनले सहायता बढाएको छ, रफ्तार कायम रहे विश्वको ठूलो दाता मुलुकको सूचीमा अमेरिका हट्न धेरै कुर्नुपर्नेछैन,' स्मिथले भने।
चीनको सहायता सबैभन्दा बढी अफ्रिकी मुलुकलाई छ। अफ्रिकामा मात्रै ७ सय ४ चिनियाँ परियोजना छ। एंगोला र इथियोपियाले मात्रै ३२ अर्ब डलर पाएका छन्। चीनले विकासोन्मुख राष्ट्रको आर्थिक समृद्धिको लक्ष्य राख्दै सहायता दिँदै आएको छ। सम्बन्धित देशको राजनीतिक सुधारका लागि समेत चीनले सहयोग बढाउँदै लगेको छ।
सन् २००० देखि २०१४ को अवधिलाई हेर्दा चीनले १ सय ४० मुलुकका ४३ हजार परियोजनामा ३ सय ५४ अर्ब अमेरिकी डलर सहायता दिएको छ। त्यो अवधिमा अमेरिकाको सहयोग ४० अर्ब अमेरिकी डलरले मात्र बढी छ।

चीनले वार्षिक ५ अर्ब अमेरिकी डलरले आफ्नो सहायता बढाउँदै लगेको एड डाटाको तथ्यांक छ।
चीनले विकासोन्मुख मुलुकहरुमा सहयोग बढाउँदै लगेपछि आलोचकहरुले पश्चिमा राष्ट्रहरुको सहयोगको प्रभावकारिता घट्ने चेतावनी दिएका छन्। राजनीतिक शास्त्रका प्राध्यापक जाओझुन ली चीनले राजनीतिक हस्तक्षेप नगर्ने मनसायले सहयोग गर्ने भएकलाले उसको सहायताको प्रभावकारिता बढी देखिएको बताउँछन्। 'चीनको सहयोगमा कुनै राजनीतिक स्वास्थ गाँसिएको हुँदैन। त्यसैले उसको सहयोग लिनका लागि मुलुकहरुको आकर्षित हुन्छन्,' लीले भने।
लीका अनुसार अफ्रिकन राष्ट्रहरुले सर्त नभई सहयोगको विकल्प चाहेका छन्। त्यसैले उनीहरु चिनियाँ सहयोगका लागि लालायित छन्। चीनको सिको गर्दै विश्व बैंकले पनि सहायतामा सर्त राख्न छाडेको जर्मनी स्थिति हेडवर्ग विश्वविद्यालयका प्राध्यापक डियगो हर्नानडेज बताउँछन्। 'दातृ निकायहरुको विभिन्न स्वार्थले सहयोग गरेको अवस्थामा चीन निस्वार्थ हिसाबले अघि बढिरहेको छ। सहायता प्रदान गर्ने उसको शैली नमुना छ,' उनले भने।
सहायतामा पश्चिमा राष्ट्रको दबदबा हटाउन र आफ्नो उपस्थिति बलियो पार्न चीन लागिपरेको एड डाटाको विश्लेषण छ। 'चीन सहायता प्राप्त गर्ने देशको सार्वभौमिकतालाई सम्मान गर्छ तर पश्चिमा राष्ट्रको सहायतामा राजनीतिक स्वार्थ झल्किन्छ, त्यसैले चीनको सहयोग लिन राष्ट्रहरु आकर्षित हुन्छन्,' एड डाटाका कार्यकारी निर्देशक बार्ड पार्क भन्छन्। चीनले १ सय ४० देशबाट अझ संख्या बढाउने जाने उनको भनाइ छ।
अफ्रिकन राष्ट्रहरु चाइना र ताइवानको सहायता बढी लिन्छन्। बेइजिङ आफ्नो सहयोगलाई बढाउँदै ताइवानको अफ्रिकामा गरेको सहयोगलाई न्युन देखाउन चाहन्छ। एड डाटाका निर्देशक पार्क भन्छन्, ' ताइवानको सहयोग न्युन बनाउन अफ्रिकामा लगानी बढाइरहेको चीनको लक्ष्य विश्वमै सहायता बढाउँदै लैजाने र अमेरिकालाई ठूलो दाता मुलुकको सूचीबाट हटाउने हो, त्यो दिन देख्न अब धेरै कुर्नुपर्नेछैन।'एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।