नेपालगञ्ज- सुविधासम्पन्न तारे होटलमा प्रायः बढी ऊर्जा खपत हुन्छ। ती होटलबाट धेरै मात्रामा कार्बनडाइअक्साइड उत्सर्जन हुँदा ऊर्जाको भार बढनाका साथै वातावरणीय असर पनि पुर्याएको हुन्छ तर भुजइगाउँ, वासुदेवपुरमा तारे होटलकै रुपमा सञ्चालन भइरहेको ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ वातावरण अनुकूलन छ। यो होटल नेपालकै पहिलो हरित (ग्रिन) होटल मानिएको छ।
_x000D_
_x000D_
हेर्दा सामान्य होटल जस्तै देखिए पनि यसले अपनाएको प्रविधि पूर्ण वातावरणमैत्री छ। कार्बनडाइअक्साइड उत्पादन नगर्ने नेपालको पहिलो होटल दाबी गरिएको छ। ‘जिरो कार्बन फुटप्रिन्ट’, एसिरहित, वातावरण अनुकूलनका लागि रेडियन टेक्नोलोजीको प्रयोग गरिएको होटलमा फोहोर व्यवस्थापन प्रविधिले फोहोर प्रशोधन गरी तरल पदार्थलाई पानीका रुपमा प्रयोग गर्छ भने ठोस वस्तुलाई मलखादका रुपमा प्रयोग गर्दै आएको छ।
_x000D_
_x000D_
वातावरण जोगाउने उद्देश्यले युएस ग्रिन बिल्डिङ काउन्सिलको सुपरिवेक्षणमा होटल निर्माण भएको महाप्रबन्धक इन्द्र खड्काले बताए।
_x000D_
_x000D_
होटलको संरचना, होटल बन्ने क्षेत्र लगायत सबै उक्त काउन्सिलको मापदण्डमा आधारित र काउन्सिलले पनि प्रिमियरलाई कार्बनडाइअक्साइड उत्पादन नगर्ने होटलको श्रेणीमा सिल्भर क्याटागोरीअन्तर्गत राखेको जानकारी उनले दिए। हालै उक्त प्रमाणपत्र होटलले हात पारेको हो। एलइडी बत्ती, एसीको सट्टामा रेडिएन टेक्नोलोजीको प्रयोग गरिएकोे छ। फोहोर, बत्ती, एसी, पानी व्यवस्थापन त्यही मापदण्डअनुसार छ।
_x000D_
_x000D_
रेडियन प्रविधि खासगरी युरोपियन जर्मनी, क्यानाडालगायत मुलुकका होटलमा छ। मानिसको खानपान र बसाइँमा परिवर्तन आइसकेको छ, स्वस्थकर खानपान र स्वच्छ वातावरणमा बस्न चाहनेका लागि र आउँदो पुस्तालाई पनि प्रेरणा मिलोस् भनेर नयाँ प्रविधि शुरु गरिएको महाप्रबन्धक खड्काको भनाइ छ।
_x000D_
_x000D_
विद्युत्मा मितव्ययिता अपनाएको उक्त होटलमा स्वास्थ्य वातावरणका साथै चिसो तातोमा बस्न नसक्नेहरुका लागि उपयोगी पनि छ। बाहिरबाट आएको हावालाई प्रशोधन गरेर भित्र पठाउने र सोही हावा बाहिर जाँदा अझ सफा गरेर पठाइन्छ। चुलोबाट निस्कने धुँवालाई कार्बनरहित बनाइन्छ।
_x000D_
_x000D_
जर्मनी प्रविधि भए पनि यसको व्यवस्थापन नेपाली इञ्जिनियरले गरेका हुन्। होटलका इञ्जिनियर सुमन वाच्छा अहिलेको समकालीन विश्व वातावरण र जलवायु परिवर्तनको मुद्दा जल्लोबल्दो रहेको सन्दर्भमा पर्यावरण सन्तुलन कायम गर्ने उद्देश्यले यो प्रविधि अपनाइएको उल्लेख गरे।
_x000D_
_x000D_
ऊर्जा बचतका लागि एलइडी बत्ती प्रयोग गरिएको छ भने कोठाका झ्याल फराकिला छन्। जाडो महिनामा तातो र गर्मी महिनामा चिसो हुने स्वचालित रेडियन प्रविधि जडान गरिएको छ।
_x000D_
_x000D_
नागबेलीजस्तो पानीको पाइपको कुलर बनाइएको छ। छिडरले पानी प्रत्येक कोठामा पठाउँछ। ठाउँ ठाउँमा सेन्सर जडान गरिएको छ। भवनमा व्यवस्थापन प्रणाली छ, भित्र तातो चिसोे कति तापक्रममा छ भन्नेकुरा सहजै थाहा पाउन सकिन्छ। यसका लागि साढे पाँच लाख लिटरको पानी ट्याङ्की राखिएको छ। फायर फाइटिङका लागि ५० लाख लिटर पानी स्टक गरिएको छ।
_x000D_
_x000D_
करीब ३८ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको सो होटल र काठमाडौँस्थित सोल्टी होटलको पहिलो भगिनी होटल हो। एक अर्ब २५ करोडभन्दा बढी खर्च भइसकेको सो होटलमा बार, रेस्टुराँ, ब्याङक्वेटका अलावा सेवाग्राहीले स्पा, जिम, स्टिम बाथ, स्विमिङपुलको सुविधा लिन सक्छन्। अबको एक महिनाभित्रै क्यासिनो सुरु गरिने योजना छ ।
_x000D_
_x000D_
उक्त होटललाई पाँच तारे होटलको मान्यता दिलाउन पर्यटन विभागले आवश्यक प्रक्रिया अघि बढाइसकेको छ। होटलमा ८१ कोठा छन्। यहाँ एकजना एक रात बस्न चाहेमा चार हजार ३ सय खर्चनुपर्ने छ। डोल्पा, रारा, मानसरोवर जाने पर्यटक यो होटलमा बस्ने गरेका छन्। सन् १९६५ मा काठमाडौँमा स्थापना भएको उक्त होटलले नेपालगञ्जका अलावा चाँडै पोखरा र भैरहवामा समेत दुई होटल सञ्चालन गर्ने योजनामा छ।
_x000D_
_x000D_
होटल एशोसिएसन अफ नेपाल (हान) का महासचिव विनायक शाहले सोल्टी वेस्टेन्ट प्रिमियर पूर्ण वातावरणमैत्री होटल भएको र यस्ता होटललाई प्रोत्साहन आवश्यक भएको बताए।
_x000D_
_x000D_
“होटलले पाँच तारे मान्यता पाउने प्रक्रियामा छ, अब नयाँ आउने होटलले पनि यस्ता प्रविधि अपनाउँछन्। पर्यटकले वातावरणमैत्री होटल खोज्छन् अहिले अन्तर्राष्ट्रिय ट्राभल ऐजेन्सीहरुले वातावरणमैत्री होटल खोजेर बुकिङ गर्ने गरेका छन्”, उनको भनाइ छ। नेपालगञ्जमा सुविधासम्पन्न करीब २० होटल छन्। हानको नेपालगञ्ज च्याप्टरमा आबद्ध ४० भन्दा बढी पर्यटकस्तरीय होटल छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।