मोगादिसु- सोमालियाको राजधानी मोगादिशुको एक सफारी होटेलमा शनिबार भएको विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या २७६ पुगेको छ।
सोमालियाका सभामुखले सोमबार दिएको जानकारीअनुसार सो आक्रमणमा ज्यान जाने सर्वसाधारण नागरिकको संख्या २७६ पुगेको हो। अरु कैयौँ घाइते छन्। दर्जनौँ घाइतेको अत्यन्तै गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ।
सोमालियाली अधिकारीहरुले उक्त आक्रमणबाट घाइते भएका व्यक्तिको सङ्ख्या पनि करिब ३०० रहेको जनाएका छन्। यो हमलालाई निकै दर्दनाक भनिएको छ।
शनिबार सोमालियाली राजधानी मोगादिसुको एक अति व्यस्त बजारलाई लक्षित गरी सो आतङ्ककारी हमला गरिएको थियो। सोमालियाका सभामुख अबसिर अफसर मोहम्मदले मारिने व्यक्तिको सो संख्याको पुष्टि गर्दै सो आक्रमणपछिको अवस्थाको बारेमा सहयोग गर्न आग्रह पनि गरे।
प्राप्त पछिल्लो विवरण अनुसार घटनामा अझै पनि ३०० जना भन्दा बढी घाइते भएका छन्। घाइतेहरुको अवस्था अत्यन्तै गम्भीर रहेको समाचारमा जनाइएको छ।
मृतकमध्ये अधिकांशको शरीर डढेर पहिचान गर्न नसकिने अवस्थामा रहेको प्रहरी अधिकारी इब्राहिम मोहम्मदले बताए।
विष्फोटको जिम्मेवारी कुनै समूहले लिएको छैन। यो आक्रमणलाई सोमालियाको इतिहासमा नै सबैभन्दा खतरनाक हमलाको रुपमा लिइएको छ।
संयुक्त राज्य अमेरिकाले यस हमलाबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ। यसमा संलग्न आतंककारीलाई कानुनी दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न उसले माग गरेको छ। त्यस्तै अफ्रिकन युनियनले पनि सो हमलाको कडा शब्दमा निन्दा गरेको छ।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।