काठमाडौं- गोंगबु चोकबाट करिब ३ सय मिटर दक्षिणतर्फ रेडन कलेज पर्छ। सोही कलेज नजिकैको चोकमा नन्दनी कार्की, ६० वर्ष दिनहुँजसो मकै पोलिरहेको अवस्थामा भेटिन्छिन्। हामी पुग्दा उनी मकै अगेनामा राखेर कार्टुनले हम्किँदै थिइन्। छेउमै केही भुत्ला छोडाउन तयार मकैका घोगा पनि थिए।
_x000D_
_x000D_
करिब १३ वर्ष अघिदेखि यसमै उनको दैनिकी गुज्रिएको छ। नन्दनीका चाउरी परेका गाला देख्दा यस्तो लाग्छ उनले मकै त पोलेकी छिन्, सँगसँगै आगोको रापले उनको उमेरलाई पनि सेकिरहेको छ। तर, उनी त्यही कोइला र आगोको रापलाई नै आफ्नो बाँच्ने कडी मान्छिन्।
_x000D_
_x000D_
‘आगो नहुँदो हो त मकै कसरी पाक्दो हो? मकै नपाके घरमा बिहान बेलुका खाना कसरी पाक्नु नी?’, कार्कीले अगेनामा पकाउन राखेका चार वटा मकैका घोघा फर्काउँदै भनिन्, ‘यसैले त जीवन धानेको छ। अरुलाई पोल्दो हो यो आगोले, तर हामीलाई यसैले जीवन दिएको छ।’
_x000D_
_x000D_
हिजोआजको उनको दैनिकी मकै र आगोसँगै बित्दै आएपनि नन्दनीको विगत भने अहिलेको जस्तो न्यानो र सन्तोषप्रद थिएन। तत्कालीन समय उनी इलाम बरबोटेका एक नाम चलेका व्यक्तिकी श्रीमती थिइन्। तर, वर्षौं भयो उनी आफ्नो श्रीमान्बारे नत कसैलाई बताउन चाहन्छिन्, नत सम्झिन नै।
_x000D_
_x000D_
नन्दनीको विवाह २०२६ सालमा ११ वर्षको बाल्यावस्थामै भएको थियो। एकातर्फ सामाजिक परिपाटी, प्रशस्त जग्गाजमिन भएको घर, अर्कातर्फ पुरुषप्रधान व्यवस्था। नन्दनीले विवाह भन्ने के हो नजान्दै आफूँभन्दा धेरै वर्षले जेठा व्यक्तिसँग बन्धनमा जोडिनुपर्यो। २२ वर्षको उमेरमै उनी दुई छोरा र एक छोरीकी आमा बनिसकेकी थिइन्।
_x000D_
_x000D_
घरव्यवहार सिक्दै सुखदुःख चलिरहेको नन्दनीको त्यसपछिको पारिवारिक अवस्था भने बिर्सनलायक बन्यो। जसको कारक थिए, जिन्दगीभरका लागि साथ दिने भन्दै विवाह बन्धनमा बाँधिएका उनकै श्रीमान्।
_x000D_
_x000D_
त्यतिबेला इलामको बरबोटेमा कार्की परिवारको नाममा झन्डै १ सय ५ रोपनी जग्गा थियो। उक्त जग्गा श्रीमान्ले थाहै नदिई बेचेर बेपत्ता भएपछि नन्दनीको जीवनमा कठिनाइको अध्याय थालनी भएको हो। श्रीमान् बेपत्ता भएपछि विगतसँग जोडिएको र भविष्य मानेको घर आफ्नो भएको भन्दै त्यसअघि चिनजानै नभएका एक व्यक्ति उनका अघि देखा परे। श्रीमान् बेपत्ता भएको पिरलोमा डुबेकी नन्दनीले उनै अपरिचित व्यक्तिबाटै आफ्ना श्रीमान्ले घरखेत बेचेको जानकारी पाइन्। साना बालबच्चाकी आमा नन्दनीलाई त्यतिबेलासम्म आफ्ना श्रीमान्ले के गरिरहेका छन् भन्ने पत्तोसमेत थिएन।
_x000D_
_x000D_
अन्ततः श्रीमान्कै कारण उनले आफ्ना सन्तानसहित घर छाड्नुपर्यो। त्यो समय नत अप्ठेरोमा पारेर छोडेका श्रीमान् नै फर्केर आए, नत आफन्तले नै उनको मर्का बुझिदिए। कहाँ जाने हो, कोसँग सहारा माग्ने हो, उनले कतैपनि फराकिलो बाटो देखिनन्। हिजोसम्म आफ्नाले घेरिएकी नन्दनी अब सहाराविहिन बनिसकेकी थिइन्।
_x000D_
_x000D_
‘अप्ठेरोमा परेका बेला कोही आफ्ना भएनन्।’, साडीको सप्कोले पसिना पुछ्दै नन्दनीले भनिन्, ‘दुःखीगरिबका साथमा अरु कोही नभए पनि भगवान् त साथी होलान् नी भन्ने लाग्यो र काठमाडौं आएँ।’ काठमाडौं आउँदा नन्दनीका साथमा जुगाड गरेर राखेको केही रुपैयाँ र ६ महिनाको काखे छोरो, ६ वर्षको जेठो छोरो तथा ३ वर्षकी छोरीसिवाय कोही थिएन।
_x000D_
_x000D_
पिडाले भरिएको मन र अनिश्चित भविष्यका साथमा उनी ३ सन्तान लिएर काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा झरिन्। केही दिनको कष्टप्रद बसाइपछि उनले गोंगबुमै सानो कोठा भाडामा लिइन्। सोसँगै सुरु भयो नन्दनीको नयाँ ठाउँमा जिन्दगीको नयाँ यात्रा। कोठाको भाडा ३ सय रुपैयाँ बुझाउनुपथ्र्यो। त्यसमाथि कलिला नानीबाबु। नन्दनीका लागि पैसा कमाउनु अनिवार्य बन्यो। उनले ज्यामी काम गर्न थालिन्। त्यतिबेला ज्यामी काम गरे बापत् उनलाई दैनिक २७ रुपैयाँ मिल्थ्यो। यही रकम नै उनको परिवारको जीवन धान्ने साधन बन्यो।
_x000D_
_x000D_

_x000D_
_x000D_
नन्दनीलाई आफू आमा भएकै कारण त्यतिबेला सन्तानहरुप्रतिको जिम्मेवारीबाट भाग्न नसकेको भन्ने लाग्छ। भन्छिन्, ‘सायद मेरो ठाउँमा श्रीमान् भएको भए सौतेनी आमा ल्याउँथे होलान्।’
_x000D_
त्यसपछि उनले आफ्ना सन्तानकै लागि मात्रै भएपनि संघर्ष गर्नुपर्ने ठहर गर्दै अघि बढिन्। ‘त्यतिबेला जेठो छोरो मात्र ६ वर्षको थियो। बिरामी भएको अनि थकाइ लागेको बेला पनि के भयो आमा भनेर प्रश्न गर्नसक्ने अवस्था थिएन उसको।’, मकै पोल्ने क्रममा घरीघरी निभ्न खोजेको कोइलालाई फु–फु गर्दै नन्दनीले आफ्ना भोगाइ बेलीविस्तार लगाउँदै गइन्, ‘अभावै–अभावका बीचमा पनि केटाकेटीलाई सामान्य अक्षर चिन्न सक्ने मात्र बनाउन सकेँ।’ आफ्नो जीवन मकै पोलेको बेला उडिरहेको धुवाँजस्तै कालो र अध्याँरो लाग्ने गरेको बताउने नन्दनीलाई आफ्ना छोराछोरीले अक्षर चिनेको स्कुलको नामसमेत थाहा रहेनछ।
_x000D_
_x000D_
नन्दनी कार्कीको जीवन दुःख, पिर र पिडाको वरिपरि मात्रै गुज्रिएर होला आजकल कसैको विश्वास लाग्दैन उनलाई। भन्छिन्, ‘संसार सबै स्वार्थमा नै अडिएको छ, सबैले बलेको आगो मात्र त ताप्ने रहेछन् नी, निभेको आगो कसले ताप्छ र?’
_x000D_
_x000D_
जेनतेन ज्यामी र मजदुरी गर्दै ४ जना रहेको परिवारको दैनिकी चलेको थियो। तर, उमेर ढल्किँदै गएपछि उनमा साहस पनि हराउँदै गयो। ‘शक्ति छउन्जेल त कामलाई गाह्रो सजिलो केही भनिन। जब शरीरमा बल हराउँदै गयो अनि मकै पोलेर बेच्न सुरु गरेकी हुँ।’, धुवाँले पिरो भएका आँखा मिच्दै नन्दनी पुनः सम्वादमा जोडिइन्, ‘१३ वर्ष भयो मकैले नै जिन्दगी धानेको छ।’
_x000D_
_x000D_
उनले सुरुमा १० रुपैयाँको दरले मकै बेच्ने गरेको सम्झिइन्। बढ्दो मूल्यवृद्धिले हिजोआज औधी पिरोल्ने गरेको बताउँदै नन्दनी भन्छिन्, ‘गएका १३ वर्षमा एक घोगा मकैको मूल्यमा मात्र १० रुपैयाँको फरक परेको छ। तर, तरकारी, नुनतेलको भाउ भने छोइनसक्नु छ। २० रुपैयाँ घोगा मकै बेचेर मेरो एक्लो ज्यान पाल्नसमेत मुस्किल छ।’
_x000D_
_x000D_
हाल उनको साथमा कान्छो छोरा र कलेज पढ्ने भाइका छोराहरु छन्। छोरीको बिहे भइसक्यो भने जेठो छोरा परिवारसहित गोदावरीमा बस्छन्। हिजोआज कताकता उनको मनमा शंकाको बादल मडारिरहन्छ– बुढेसकालमा कतै श्रीमान्ले जस्तै सन्तानले पनि साथ छोड्ने पो हुन् की। ‘जेठो छोरा गोदावरीमा ठेकेदारी गर्दै छुट्टै बस्दै आएको छ। कहिलेकाहिँ मात्र भेट्न आउँछ।’, शंका लागेपनि सन्तानले हेर्लान् नी भन्ने आशा कायमै राखेकी नन्दनीले भनिन्, ‘बुढेसकालका सहारा भनेका उनीहरु नै हुन्, अब के गर्छन्, पछि हेर्छन् हेर्दैनन्, उनीहरुको धर्म न हो।’
_x000D_
_x000D_
जिन्दगीको लामो समय अभावसँगै मित्रता गाँसेकी नन्दनीलाई हिजोआज सन्तानले गर्दै आएको सहयोगले केही राहत मिलेको आभाष हुन्छ। ‘अब त पहिले भन्दा धेरै उज्याला बनेका छन् दिनहरु। जेनतेन मैले पनि कमाएकै छु। छोराछोरीले पनि आमा बिर्सिएका छैनन्।’, अनुहारमा केही चमकता थप्दै नन्दनी बेलिन्।
_x000D_
_x000D_
चाडबाडको समय छ। उनलाई पनि सन्तानसँगै बसेर मनाउन खुब रहर छ। नन्दनीलाई एक छाक मिठो मसिनो खान र राम्रो लगाउन पाए हुन्थ्यो भन्ने लाग्छ। ‘बुवा चैतमा खस्नु भएकाले यो वर्ष दसैं मनाउन पाइएन। तिहारमा दिदीभाइ जम्मा होलान्, टिका लगाउलान् भन्ने छ।,’ उनले थपिन्, ‘घरमा सबै जना जम्मा भइदिए म आमालाई खुसी हुन अरु के नै चाहियो र बाबु?’
_x000D_
_x000D_
एक्लोपन, दुःख र संघर्ष भन्ने शब्द नन्दनीका लागि पर्याय जस्तै बनेका छन्। त्यसकारण उनी आजसम्म पनि सन्तानमा मात्रै आश्रित छैनन्। कुनैबेला आफ्नो बनाएका श्रीमान् र आफन्तबाट एक्लिएकी उनलाई अझै आफ्नो आत्मबलमा विश्वास छ। भन्छिन्, ‘हातखुट्टा चलिन्जेल र ज्यानले साथ दिइन्जेलसम्म त होनी मान्छेले काम गर्ने। अब त्यति नै त होलानी मैले गर्ने पनि।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।