मोगादिसु- सोमालियाको राजधानीमा रहेको मोगादिसु सफारी होटेलमा शनिबार भएको विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या २३० पुगेको छ।
अमिन एम्बुलेन्स सेवाका निर्देशक अव्दुलकदिर अव्दिरअहमान अदेमले अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या २३० पुगेको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै जानकारी दिए। घटनामा गम्भीर घाइतेको सङ्ख्या अझै धेरै रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने उनले बताए।
विस्फोटमा करिब २५० जना घाइते भएका र उनीहरूको राजधानीकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
पछिल्ला केही महिनायता भएकामध्ये यो सबैभन्दा ठूलो आक्रमण हो। घटनापश्चात होटेलमा पुगेका प्रहरी अधिकारीका अनुसार विस्फोटका कारण होटेलका कैयौं ढोका, झ्याल नराम्ररी चर्केका छन्।
सोमालियाली राष्ट्रपति मोहम्मद अव्दुल्लाही मोहमदले विस्फोटमा मृत्यु भएका व्यक्तिको सम्झनामा तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन्। विस्फोटको आइतबारसम्म कसैले पनि जिम्मा लिएको छैन।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।