काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा नेपाल यूएईसँग ७ विकेटले पराजित भएको हो।
यसअघि पहिलो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो।
नेपालले दिएको १५४ रनको लक्ष्य यूएईले ३४.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। यूएईका कप्तान अयान मिस्बाहले अविजित ७५ रन बनाए। ययिन किरण रायले ३२ र अहमद खुददादले २४ रनको योगदान दिए।
नेपालका सुशील रावल, नितेश पटेल र विपिन शर्माले एक–एक विकेट लिए।
त्यसअघि अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको थियो।
नेपालका लागि सोहेल कुँवरले सर्वाधिक ३३ रन बनाए। उनले ७१ बलमा ३ चौका प्रहार गरे। सचिन भट्टले ५५ बलमा ३२ रन जोडे।
त्यस्तै, दर्श सोनारले २२ बलमा १६, निरजकुमार यादवले २० बलमा १६ र आशिष लुहारले १३ बलमा ११ रन बनाए।
निश्चल क्षेत्रीले ९, शुभम खनालले ९ र कप्तान विपिन शर्माले अविजित ९ रन बनाए। नितेश पटेलले ५ तथा सुशील रावलले २ रन जोडे। प्रसिद्ध जैसी खाता नखोली आउट भए।
नेपालको सुरुवात राम्रो हुन सकेन। निरजकुमार यादव १८ रनको स्कोरमा पहिलो विकेटका रूपमा आउट भए। त्यसपछि प्रसिद्ध जैसी र निश्चल क्षेत्री पनि छिट्टै आउट हुँदा नेपाल ३६ रनमा ३ विकेट गुमाएको अवस्थामा पुगेको थियो।
सोहेल कुँवर र दर्श सोनारले पारी सम्हाल्ने प्रयास गरे पनि नियमित अन्तरालमा विकेट गुमाउँदा नेपाल ठूलो योगफल बनाउन असफल भयो।
यूएईका नसीम खानले ८ ओभरमा ४३ रन खर्चेर ५ विकेट लिए। अयान मिस्बाहले १० ओभरमा २२ रन दिँदै ३ विकेट हात पारे। नुरुल्लाह अयोबीले २ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।