काठमाडौं। पश्चिमी वायुको आंशिक प्रभावका कारण आज (बुधबार) देशका अधिकांश भूभागमा आंशिक बदली रहने भएको छ।
कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा पनि आंशिक बदली हुने पूर्वानुमान छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
बुधबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बदली रहनेछ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
त्यसैगरी तराईका भूभाग, उपत्यका तथा खोँचहरूका थोरै स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।