बैंकक : थाइल्यान्डको सरकारले सन् २०१८ नोभेम्बरमा हुने आमचुनावमा सहभागी हुन र निर्वाचनको वातावरण निर्माण गर्न सबै राजनीतिक दलसँग आग्रह गरेको छ।
थाइल्यान्डका प्रधानमन्त्री प्रायुत चान ओचाले आगामीे जुनमा निर्वाचन घोषणाको योजना सरकारले बनाएको जानकारी दिए । उनले जुनमा निर्वाचन मिति घोषणा गर्ने र नोभेम्बरमा निर्वाचन सम्पन्न गर्ने बताएका हुन्।
उनले राजधानी बैंककमा पत्रकार सम्मेलन गरी अर्को वर्ष नोभेम्बरमा निर्वाचन गर्ने खुलासा गरेका थिए।
त्यहाँको जुन्ता (सैनिक) सरकारका प्रधानमन्त्री ओचाले निर्वाचनमा सबै राजनीतिक दलसँग सहभागिता जनाउन वातावरण निर्माण गर्न आग्रह गरेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
अहिले थाइल्यान्डमा हाल सैनिक सरकार छ । सन् २०१४ मा तत्कालीन प्रधानमन्त्री यिङलक सिनावात्राको निर्वाचित सरका ‘कू’ गरी ओचा प्रधानमन्त्री बनेका हुन् ।
ओचामाथि संसदीय चुनाव गरेर प्रजातन्त्र पुनर्वहाली गर्न र राजनीतिक दललाई सत्ता हस्तान्तरण गर्न अन्तर्राष्ट्रिय दबाब पर्दै आएकाले उनले निर्वाचन मिति तय गरेका हुन्।
अहिले त्यहाँ राजनीतिक क्रियाकलाप प्रतिबन्धित गरेकाले पनि विश्वभर नै उनी आलोचित छन्।
ओचाले राजनीतिक दलका क्रियाकलापमाथिको प्रतिबन्ध फुकुवा गर्नेबारे पनि आफूले विचार गरिरहेको पनि बताए।
पूर्वप्रधानमन्त्री यिङलकमथि भ्रष्टाचारको मुद्दा लगाइएको छ । त्यहाँको सर्वोच्च अदालतले केही दिनअघि उनलाई ५ वर्षको जेल सजाय सुनाएको छ । उनी दुबईमा बसेकी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।