काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले प्रस्तुत गर्ने तथ्यांकमा एकरूपता हुनुपर्ने बताएका छन्।
प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा गर्ने सम्बोधनले समग्र देशको प्रतिनिधित्व गर्ने भन्दै चालिसेले नेपालले उठाउनुपर्ने विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई आवश्यक सुझाव दिएको र तीमध्ये केही मुद्दा सम्बोधनमा समेटिनु सकारात्मक भएको बताएका छन्।
तर, एउटै विपद्का विषयमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको तथ्यांक फरक देखिएको भन्दै उनले प्रश्न उठाएका छन्। उनका अनुसार परराष्ट्रमन्त्रीको सम्बोधनमा विपद्बाट भएको क्षति कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब १५ प्रतिशत उल्लेख गरिएको छ भने प्रधानमन्त्रीको सम्बोधनमा पुनर्स्थापना र पुनर्निर्माणका लागि आवश्यक रकम जीडीपीको करिब १० प्रतिशत भनिएको छ।
दुवै तथ्यांक फरक सूचकमा आधारित अनुमान हुन सक्ने भए पनि त्यसको आधार, परिभाषा र स्रोत स्पष्ट हुनुपर्ने चालिसेको भनाइ छ।
‘देशका प्रमुख प्रतिनिधिले अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने राष्ट्रिय तथ्यांकमा यस्तो अस्पष्टता देखिनु राम्रो सन्देश होइन,’ चालिसेले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।