काठमाडौं– त्रिपुरेश्वरमा बसमा भएको आगलागी घटनाको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन गरिएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई घटनाको कारण र त्यसअघि भएको विवादबारे अध्ययन गरी पाँच दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको एआईजी सुशील सिंह राठौरले बताए ।
रिद्धीसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी हुँदा चालक काभ्रेका २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका छन् । प्रहरीले उद्धार गरी उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि पठाएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको अवस्था चिन्ताजनक छ ।
बसमा आगो लाग्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको थियो । त्यसपछि चालकले नै बसमा आगो लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक आशंका छ ।
तर आगलागीको वास्तविक कारण र घटनाको क्रमबारे छानबिन समितिको प्रतिवेदनपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।