रुपन्देही– नक्कली ब्लुबुक बनाएर चोरीका मोटरसाइकल खरिद–बिक्री गर्ने गरेको आरोपमा रुपन्देही प्रहरीले एक जनालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुपन्देहीको सियारी गाउँपालिका–२ का करिब ४४ वर्षीय अजय चौधरी रहेका छन्।
प्रहरीका अनुसार चौधरीले नक्कली ब्लुबुक तयार गरी चोरीका मोटरसाइकल बेचबिखन गर्ने गरेको सूचनाका आधारमा निगरानी बढाइएको थियो। सोही क्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनलाई सिद्धार्थनगर नगरपालिका–७, विद्यापथबाट नियन्त्रणमा लिएको हो।
चेकजाँचका क्रममा चौधरीको साथबाट टाइप–५४ पेस्तोलजस्तो देखिने एक थान पेस्तोल र त्यसमा लोड गरिएको ४ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै, एउटै फोटो भएका दुई वटा ब्लुबुक र चार वटा भारतीय आधार कार्डसमेत फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।