सिरहा– सशस्त्र प्रहरी बल नेपालका सई लक्ष्मणप्रसाद यादवको हत्या भएको झन्डै दुई वर्षपछि घटनाका मुख्य अभियुक्त पक्राउ परेका छन्। भारतको बिहारका ३८ वर्षीय मोहम्मद कुरवान मन्सुरीलाई प्रहरीले शनिबार सिरहाको कचनारीबाट गोली हानी नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा मन्सुरीले प्रहरीतर्फ गोली चलाएर भाग्न खोजेपछि प्रहरीले तीन राउन्ड गोली चलाएको थियो। त्यस क्रममा उनको बायाँ हात र दायाँ खुट्टामा गोली लागेको छ। घाइते मन्सुरीको सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकले जानकारी दिए।
मन्सुरीमाथि २०८१ मंसिर १६ गते बरियापट्टी गाउँपालिका–१ कचनारीमा सई यादवको ज्यान जाने गरी भएको घटनामा संलग्न रहेको आरोप छ। प्रहरीका अनुसार मन्सुरी नेपालबाट भारततर्फ मदिरा तस्करी गर्न प्रयोग हुने सफारी गाडीका धनी हुन् र घटनाका बेला उक्त गाडी उनी आफैंले चलाएका थिए।
घटना भएको दिन बिहान करिब ३:१० बजे सई यादवको नेतृत्वमा रहेको सशस्त्र प्रहरीको गस्ती टोलीले भारतीय सफारी गाडीमा मदिरा तस्करी भइरहेको देखेको थियो। त्यसपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले गाडी पछ्याएको थियो।
पछ्याउने क्रममा तस्करीमा प्रयोग भएको गाडीले सई यादवलाई ठक्कर दिएर भारततर्फ भागेको थियो। गम्भीर घाइते यादवको उपचारका क्रममा लहानस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो।
घटनापछि मन्सुरी लामो समय भारतमै बस्दै आएका थिए। उनलाई पक्राउ गर्न प्रहरीले निरन्तर खोजी गरिरहेको थियो। शनिबार कचनारीमै उनी भेटिएपछि नियन्त्रणमा लिन खोज्दा प्रहरीतर्फ गोली चलाएर भाग्न खोजेको र त्यसपछि जवाफी कारबाहीमा गोली लागेर पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मृतक सई यादव सिरहाको नरहा गाउँपालिका–४ का ४८ वर्षीय स्थानीय थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।