विराटनगर– सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्साहीस्थित बीपी चोकमा दुई यादव समूहबीच झडप हुँदा एक युवक घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
सुनसरी प्रहरीले जारी गरेको विवरणअनुसार झडपमा स्थानीय २४ वर्षीय निरजकुमार यादव घाइते भएका हुन्। उनको खुट्टामा चोट लागेको छ। विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत यादवको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा देवानगञ्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णुकरमा यादव र २६ वर्षीय ‘लाली’ भनिने जयकृष्ण यादवलाई नियन्त्रणमा लिइएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
यसअघि घटनास्थलबाट निरजकुमार यादवलाई गोली लागेको र उनको तिघ्रामा गोली लागेको विवरण सार्वजनिक भएको थियो। तर, सुनसरी प्रहरीले जारी गरेको विज्ञप्तिमा गोली प्रहार भएको विषय उल्लेख गरिएको छैन। प्रहरीले घटनालाई दुई समूहबीचको झडपका रूपमा मात्रै उल्लेख गरेको छ। गोली कसरी चल्यो वा युवकको खुट्टामा लागेको चोटको कारण के हो भन्नेबारे पनि विज्ञप्तिमा केही खुलाइएको छैन।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले घटनाबारे सामाजिक सञ्जालमा मानिसको मृत्यु भएको तथा धेरै जना घाइते भएको भन्दै भ्रमपूर्ण सामग्री प्रसार भइरहेको बताएका छन्। उनले घटनाको यथार्थ बुझेर मात्रै सूचना सम्प्रेषण गर्न आग्रह गरेका छन्।
देवानगञ्जमा यसअघि पनि झडपपछि ठूलो तनाव सिर्जना भएको थियो। गत साउनमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो। उक्त घटनापछि मधेस प्रदेशका विभिन्न क्षेत्रमा समेत तनाव फैलिएको थियो।
त्यसै पृष्ठभूमिमा देवानगञ्जमा फेरि दुई समूहबीच झडप र युवक घाइते भएको घटना भएपछि प्रहरीले घटनास्थलमा सुरक्षा बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।