काठमाडौं– इजरायलमा केयरगिभरका रूपमा रोजगारी दिलाइदिने भन्दै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका प्रमुख सल्लाहकार कुमार वेनको नाम र पद दुरुपयोग गरी २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरत चौलागाईं र दोलखाको कालिञ्चोक गाउँपालिका–८ की ३२ वर्षीया बालिका सिवाकोटी रहेका छन्।
सीआईबीका सूचना अधिकृत अनुपमशमशेर जबराका अनुसार नेपाल र इजरायल सरकारबीच भएको ‘जीटुजी’ सम्झौताअनुसार केयरगिभरका लागि इजरायल पठाउन नेपाल सरकारले सन् २०२४ मा लिएको परीक्षामा सहभागी भई ‘लक्की ड्र’बाट छनोट हुन नसकेका व्यक्तिलाई लक्षित गरी उनीहरूले रकम उठाएका थिए।
चौलागाईं, सिवाकोटीलगायतका व्यक्तिले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम र पद दुरुपयोग गर्दै इजरायल पठाइदिने विश्वास दिलाएर प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँसम्म लिएको सीआईबीको अनुसन्धानबाट खुलेको जनाएको छ।
यसरी १५६ जनाबाट कुल २ करोड ५० लाख रुपैयाँ उठाएर ठगी गरेको भन्दै पीडितहरूले कानुनी कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका थिए।
सीआईबीका अनुसार बिहीबार पक्राउ परेका दुवै जनामाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२१ अन्तर्गत ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। काठमाडौं जिल्ला अदालतबाट कानुनबमोजिम म्याद थप अनुमति लिएर उनीहरूमाथि थप अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।