काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा, ड्रोन तथा बेलुन उडाउन र विमानतर्फ लेजर लाइट देखाउन निषेध गरिएको छ।
हवाई उडानको सुरक्षालाई ध्यानमा राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार सूचना जारी गरी विमानस्थल तथा हवाई आवागमन हुने क्षेत्रमा यस्ता गतिविधि नगर्न आग्रह गरेको हो।
कार्यालयका अनुसार चङ्गा, ड्रोन र बेलुन उडाउने तथा विमानतर्फ लेजर लाइट प्रयोग गर्ने गतिविधिले उडान सुरक्षामा गम्भीर जोखिम निम्त्याउन सक्छ।
त्यसैले विमानस्थल आसपास यस्ता गतिविधि नगर्न तथा नगराउन सम्बन्धित व्यक्ति, संस्था र सर्वसाधारणलाई कार्यालयले आग्रह गरेको छ।
प्राधिकरणको निर्देशन अटेर गरी चङ्गा, ड्रोन वा बेलुन उडाएको तथा विमानतर्फ लेजर लाइट प्रयोग गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
सुरक्षित हवाई आवागमन सुनिश्चित गर्न विमानस्थल आसपास उडान सुरक्षामा असर पार्ने गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको कार्यालयले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।