काठमाडौं– सिन्धुपाल्चोक र काठमाडौंको सीमामा पर्ने शिवपुरी राष्ट्रिय निकुञ्जभित्रको धाप ड्याम फुट्ने खतरा तत्कालका लागि टरेको छ।
ड्यामको सिन्धुपाल्चोकतर्फको भागमा पहिरो गएपछि फुट्ने त्रास बढेकोमा अस्थायी संरचना निर्माणपछि तत्काल खतरा नरहेको नागमति तथा धाप बाँध आयोजना प्रमुख शम्भुराज पण्डितले नेपाललाइभलाई बुधबार जानकारी दिए।
धाप ड्यामबारे नेपाललाइभको पहिलो समाचारका लागि यहाँ क्लिक गर्नुहोस्।
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी
उनका अनुसार, पहिरो गएको भागतर्फ पानी चुहिने सम्भावना अब छैन। नयाँ ह्युम पाइप जोडेर पानी अन्यत्र जाने बनाइएको छ भने आकाशे पानीबाट असर नहोस् भनेर पर्खालको माथि आवश्यक संरचना निर्माण भएको छ। त्यस्तै, पर्खालको लोड पनि घटाइएको छ।
‘यो अस्थायी प्रबन्ध हो। तत्कालका लागि समस्या हुँदैन,’ उनले भने।
दीर्घकालीन समाधानबारे अध्ययन भइरहेको छ। एसियाली विकास बैंकले स्थायी समाधानका लागि चासो लिइरहेको छ भने मंगलबार मात्र जियोलोजिस्टको टोली लगेर भविष्यमा समस्या आउन नदिन के गर्ने भनेर प्राविधिक अध्ययनसमेत गराइएको छ।
यसअघि सिन्धुपाल्चोकको मेलम्ची वडा नम्बर ३ मा पर्ने मझुवातर्फ ड्यामका लागि निर्मित जाली लगाइएको पर्खाल पल्टिएर पहिरो गएपछि ड्याम फुट्ने हो कि भन्ने त्रास बढेको थियो।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।