झापा– आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य भन्दै विभिन्न सरकारी कार्यालय, बैठक र शैक्षिक संस्थामा प्रवेश गरी दबाब तथा धाकधम्की दिएको आरोपमा झापाका एक युवक पक्राउ परेका छन्।
हल्दिबारी गाउँपालिकाका २६ वर्षीय सुजन विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले पक्राउ गरेको हो। प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा उनले दाबी गर्दै आएका राजनीतिक तथा सरकारी पद र जिम्मेवारी वास्तविक नभएको खुलेको जनाएको छ।
विश्वकर्माले आफू विभिन्न सरकारी तथा राजनीतिक पदमा रहेको परिचय दिँदै सरकारी कार्यालयका बैठक तथा विभिन्न शैक्षिक संस्थामा प्रवेश गर्ने, दबाब दिने र धाकधम्की दिने गरेको प्रहरीको भनाइ छ।
प्रहरीले उनलाई झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी मुन्नाकुमार अधिकारीका अनुसार विश्वकर्माले कसैलाई झुटो परिचय दिएर लाभ लिएको वा कसैलाई हानि–नोक्सानी पुर्याएको भए प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ।
पक्राउ परेका विश्वकर्मालाई केही समयअघि प्रहरीले नै गरेको थियो सम्मान
रोचक पक्ष के छ भने, पक्राउ परेका विश्वकर्मालाई गत जुन २५ मा झापा जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले सम्मान गरेकी थिइन्।
विश्वकर्माले समेत आफूलाई सम्मान गरिएको भन्दै सामाजिक सञ्जालमार्फत झापा प्रहरी र एसपी खड्कालाई धन्यवाद दिएका थिए। उनले आफू रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित भएको दाबी गर्दै उक्त सम्मानलाई त्यसैसँग जोडेर सामाजिक सञ्जालमा तस्बिरसहित पोस्ट गरेका थिए।
उनले लेखेका थिए, ‘चन्द्रगढी प्रहरी प्रमुखज्यूबाट प्राप्त सम्मानप्रति हार्दिक आभार। यो सम्मान मेरो मात्र होइन, मप्रति विश्वास गर्ने सम्पूर्ण साथीहरूको सम्मान हो। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि प्राप्त सम्मानप्रति हार्दिक आभार जनाउँदै जनताको विश्वासलाई कार्यद्वारा सार्थक बनाउने प्रतिबद्धता व्यक्त गर्दछु।’
तर अहिले प्रहरी अनुसन्धानमा उनले दाबी गरेका रास्वपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्यलगायतका पद वास्तविक नभएको प्रारम्भिक रूपमा खुलेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।