बिबिसी- प्रत्येक पाँच वर्षमा विश्वको नजर चीनमा हुने चिनियाँ कम्युनिस्ट पार्टीको कंग्रेसतिर मोडिन्छ, जसले चीनको नेतृत्व गर्ने नेताको टुंगो लगाउँछ।
चिनियाँ कम्युनिस्ट पार्टीको बागडोर सम्हाल्ने अर्थात् महासचिव चयन हुने नेताले नै १ अर्ब ३० करोड जनसंख्या भएको विशाल चीनमा राज्य गर्छन्। यसका साथै पार्टी महासचिवले विश्वको दोस्रो ठूलो अर्थव्यवस्था सञ्चालन गर्छन्।
यस वर्ष अक्टोबर १८ अर्थात् यही कात्तिक १ गते चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं कंग्रेस बैठक सुरु हुँदैछ। बैठकबाट चीनको नेतृत्व परिवर्तन हुने अपेक्षा गरिएको छ। किनभने सामान्यतया चीनमा दुई कार्यकाल सम्हालिसकेपछि नेताहरूले पार्टी र सत्ताको नेतृत्व आफूभन्दा युवा पंक्तिलाई सुम्पने परम्परा स्थापित जस्तै छ। तर पार्टी महासचिव तथा राष्ट्रपति सि चिनफिङले अहिलेसम्म कसैलाई पनि आफ्नो उत्तराधिकारीका रुपमा अघि नबढाएकाले र सत्ता तथा पार्टीमा उनको शक्ति बढिरहेकाले उनै अझै राष्ट्रपतिको पदमा कायमै रहने अनुमान गरिएको छ।
कंग्रेसले के गर्छ?
अक्टोबर दोस्रो सातातिर कम्युनिस्ट पार्टी अफ चाइना (सिपिसी) ले देशभरबाट कंग्रेसमा सहभागी हुने प्रतिनिधि चयन गर्छ। त्यसपछि राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा कंग्रेस बैठक बस्छ।
कंग्रेसमा भाग लिन छानिएका २३ सय प्रतिनिधिमध्ये २२ सय ८७ जना मात्र बैठकमा सहभागी हुनेछन्। १३ जना प्रतिनिधिलाई अनुचित व्यवहारका कारण अयोग्य ठहर्याएपछि उनीहरूले कंग्रेसमा भाग लिन नपाउने भएका हुन्।

सिपिसी कंग्रेसको बन्द सत्रमा पार्टीको शक्तिशाली केन्द्रीय समितिको चुनाव हुनेछ। केन्द्रीय समितिमा करिब दुई सय सदस्य हुन्छन्। केन्द्रीय समितिले पार्टीको पोलिटब्युरो चुन्छ र पोलिटब्युरोबाट पार्टीको स्थायी समिति चयन गरिन्छ। सिपिसीको पोलिटब्युरो र स्थायी समिति नै चीनका सबैभन्दा शक्तिशाली निकाय हुन्। पोलिटब्युरोमा अहिले २४ सदस्य छन् भने स्थायी समितिमा सात जना। तर सदस्य संख्या भने घटबड हुन सक्छ।
त्यहाँ नेतृत्वका लागि कंग्रेसमा चुनाव र मतदान हुन्छ। चिनियाँ सञ्चारमाध्यमले चुनाव र मतदान भयो भनिरहँदा विश्वभरका सञ्चारमाध्यमले चीनमा चुनाव वा मतदानको औपचारिकता मात्र पूरा गरिने विश्वास गर्छन्। किनभने पार्टीको केन्द्रीय समिति, पोलिटब्युरो, स्थायी समिति लगायत राष्ट्रपति र प्रधानमन्त्री लगायत सबै पदमा नियुक्ति
पाउने नेता पहिल्यै तय भइसकेका हुन्छन् र सबै प्रतिनिधिले त्यसको अक्षरशः पालना गर्ने विश्वास गरिन्छ।
केन्द्रीय समितिले पार्टीका शीर्ष नेता अर्थात महासचिवको पनि चयन गर्छ। चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव नै चीनको राष्ट्रपति हुन्छन्। यस वर्षको कंग्रेसबाट तेस्रो कार्यकालका लागि वर्तमान राष्ट्रपति सि नै चयन हुने अनुमान गरिएको छ।
के होला यसपालि?
१९औं पार्टी कंग्रेसको ध्यान मुख्य रुपमा दुई वटा कुरामा छ। पहिलो, राष्ट्रपति सिले कंग्रेसमा पेस गर्ने आगामी पाँच वर्षका लागि चीनले अवलम्बन गर्ने राजनीतिक कार्यदिशा सम्बन्धी नीतिको विस्तृत प्रतिवेदन र त्यसमाथि हुने विश्लेषण। दोस्रो, पोलिटब्युरो र स्थायी समितिमा पूरै फेरबदलको अपेक्षा।
हालैका वर्षमा पार्टीले केही विशेष पदमा कार्यकाल र उमेरहद अनौपचारिक रुपमा तय गरेको छ। अहिले पोलिटब्युरोमा रहेका सबै नेताहरू हट्ने अपेक्षा गरिएको छ। किनभने उनीहरू सबैले अवकाशका लागि तोकिएको उमेर ६८ वर्ष पार गरिसकेका छन्।
उमेरहद नाघिसकेका नेतामा भ्रष्टाचारविरुद्ध छानबिन एजेन्सी प्रमुख वाङ चिसान पनि हुन्। वाङ राष्ट्रपति सिका निकट र महत्वपूर्ण सहयोगी हुन्, त्यसैले उनलाई एजेन्सी प्रमुखमा कायमै राखिन पनि सक्छ। राष्ट्रपति सि र प्रधानमन्त्री लि खछियाङको उमेर भने ६५ वर्ष हाराहारीमा छ।
सामान्यतया सिपिसीको कंग्रेसबाट आगामी नेतृत्वका लागि युवा पुस्ता अघि बढाउने अपेक्षा गरिन्छ। दुई कार्यकाल सम्हालिसकेका राष्ट्रपति सिले यसपल्ट यो परम्परा भंग गर्न सक्ने अनुमानबीच उनले आफ्नो उत्तराधिकारी घोषणा गर्न सक्ने सम्भावना पनि उत्तिकै छ।
शक्तिशाली राष्ट्रपति सि
सन् २०१२ मा सत्तारोहण पार्टी र देशको शीर्ष नेतृत्वमा उक्लेका सिले त्यसयता निरन्तर आफूलाई पार्टीभित्र अत्यन्त शक्तिशाली बनाउँदै लगेका छन्। उनले कैयौं महत्वपूर्ण उपाधि लिएका छन्। उनलाई ‘कोर लिडर अफ चाइना’को टाइटल पनि दिइएको छ।

चिनियाँ राष्ट्रपति सि चिनफिङ पत्नी तथा प्रथम महिला पेङ लियुआनसँग
माओ त्से तुङ र देङ स्याओ पिङपछि चीनको राजनीतिमा यति धेरै शक्तिशाली र प्रभावशाली बन्न सफल नेता सिमात्र हुन्। उनका नीतिलाई अहिले पार्टीभित्र ‘सि चार्टर’ भन्ने गरिन्छ। कंग्रेसमा आफ्ना समर्थकको संख्या धेरै भएकाले पार्टीमा आफ्ना आगामी नीतिहरू स्थापित गर्न सिलाई कठिन नहुने अपेक्षा छ।
सिले राष्ट्रपतिको दुई कार्यकालको परम्परागत सीमा बढाउने घोषणा गर्न सक्ने अनुमान केही राजनीतिक विश्लेषकले गरेका छन्। सन् २०१२ मा पार्टी महासचिव र राष्ट्रपतिमा निर्वाचित भएलगत्तै उनले भ्रष्टाचारविरुद्ध सशक्त अभियान चलाए। १० लाखभन्दा बढी सरकारी अधिकारी र पार्टी नेतामाथि भ्रष्टाचार अभियोगमा कारबाही गरे। कैयौंले उनको भ्रष्टाचारविरुद्ध अभियानलाई आफ्ना विरोधी सखाप पार्न चालेको कदमका रुपमा पनि व्याख्या गर्छन्।
उनकै नामबाट पनि त्यहाँ एउटा आन्दोलन सुरु भयो। त्यसले पनि चिनियाँ सञ्चारमाध्यममा उनको छवि अझै चम्कियो। अभियानका कारण उनलाई स्नेहपूर्वक ‘सि काका’ र ‘सि दाजु’ भनेर पनि बोलाइन्छ।
विश्वमा पर्ने प्रभाव
विश्लेषकहरूका अनुसार स्थायी समितिमा ठूलो फेरबदलले महत्वपूर्ण नीतिगत परिवर्तन हुन सक्छ। अन्तर्राष्ट्रिय क्षेत्रमा चिनियाँ नीतिमा कुनै परिवर्तन नआए पनि सि फेरि अर्को कार्यकालका लागि राष्ट्रपति भए चीनमा स्थिरता कायम रहन्छ। चीनमा आर्थिक सुधार कार्यक्रम जारी नै छ, जसमा राष्ट्रपति सिको भ्रष्टाचारविरोधी अभियान पनि समावेश छ।राष्ट्रपति सिको नेतृत्वमा चीन विश्वमा शक्ति राष्ट्रका रुपमा आक्रामक गतिमा उदाएको छ। खासगरी दक्षिण चीन सागरमा सीमा विस्तार र एसिया प्रशान्त र युरोपसम्म प्रभाव पार्ने ‘बेल्ट एन्ड रोड’ परियोजना प्रमुख छन्। राष्ट्रपति डोनल्ड ट्रम्पको नेतृत्वमा अहिले विश्वमा अमेरिकाको खस्कँदो स्थितिमा चीनले आफूलाई वैकल्पिक ‘सुपर पावर’मा रुपमा प्रस्तुत गरिरहेको छ।बिबिसीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।