काठमाडौं– भारतले महिला एसिया कप क्रिकेटको उपाधि आठौँपटक जितेको छ। फाइनलमा श्रीलंकालाई ७२ रनले पराजित गर्दै भारतले आफ्नो दबदबा कायम राखेको हो।
तर भारतीय महिला टोलीले उपाधि जिते पनि ट्रफी ग्रहण गर्ने क्रममा भने फरक दृश्य देखियो। भारतीय टोलीले एसियन क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष तथा पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीको हातबाट ट्रफी लिन अस्वीकार गरेको हो।
नकवी पाकिस्तान सरकारका गृहमन्त्रीसमेत हुन्। भारत–पाकिस्तानबीचको पछिल्लो राजनीतिक तनावका कारण भारतीय टोलीले नकवीबाट ट्रफी नलिने निर्णय गरेको बताइएको छ। यसअघि सन् २०२५ मा भारतीय पुरुष टोलीले पनि नकवीकै हातबाट एसिया कपको ट्रफी लिन अस्वीकार गरेको थियो।
ट्रफी वितरण समारोहका क्रममा दर्शकहरूले नकवीलाई ‘चोर’ भन्दै नाराबाजीसमेत गरेका थिए।
भारतका मुख्य प्रशिक्षक अमोल मजुमदारले खेलपछि ट्रफी नलिने निर्णय भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को भएको बताए। उनले भने, ‘ट्रफी नलिने निर्णय बीसीसीआईले गरेको हो र हामी त्यस निर्णयसँगै छौँ। हाम्रा लागि प्रतियोगिता सकिएको छ। हामी च्याम्पियन हौँ। हाम्रा लागि यति नै पर्याप्त छ।’
मजुमदारले अब टोलीको ध्यान एसियन गेम्समा केन्द्रित हुने बताउँदै खेलाडी तथा सपोर्ट स्टाफप्रति गर्व व्यक्त गरे। बीसीसीआई सचिव देवजीत सैकियाका अनुसार भारतीय टोली नकवीबाट ट्रफी लिन इच्छुक थिएन। त्यसपछि बोर्डले ट्रफी वितरणका लागि दुईवटा विकल्प अघि सारेको थियो।
पहिलो विकल्पमा एसीसीका उपाध्यक्ष खालिद अल जरूनीबाट ट्रफी प्रदान गर्ने प्रस्ताव थियो। दोस्रो विकल्पमा पछिल्लो परम्पराअनुसार विजेता टोलीको बोर्ड प्रतिनिधिबाट ट्रफी हस्तान्तरण गर्ने प्रस्ताव थियो।
तर नकवीले दुवै विकल्प स्वीकार नगरेपछि भारतीय टोलीले ट्रफी ग्रहण नगर्ने निर्णयमा कायम रहेको सैकियाले बताए।
मन्धाना–शेफालीको कीर्तिमानी साझेदारी
फाइनलमा भारतको जितमा स्मृति मन्धाना र शेफाली वर्माले उत्कृष्ट प्रदर्शन गरे। उनीहरूले महिला एसिया कपको इतिहासमै सबैभन्दा ठूलो साझेदारी गर्दै भारतको विशाल योगफलको आधार तयार पारे।
प्रतियोगिताभर भारतले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ३२ छक्का प्रहार गरेको थियो। आठौँपटक उपाधि जित्दै भारतले महिला एसिया कपमा आफ्नो प्रभुत्व थप बलियो बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।