भक्तपुर– खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–३ ब्रम्हनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक २५ वर्षीय उमेश शाह र भक्तपुर नगरपालिका–२ इटाछेका ४१ वर्षीय राजेश कर्मचार्य रहेका छन्।
प्रहरीका अनुसार बिहीबार करिब ५ बजे ब्रम्हनगरस्थित शाहको किराना पसलमा उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ८ सय रुपैयाँमा बिक्री भइरहेको सूचना प्राप्त भएको थियो।
उक्त सूचनाका आधारमा अपराध अनुसन्धान कार्यालय टेकुबाट प्रहरी निरीक्षक हेमबहादुर थपलियाको कमाण्डमा खटिएको टोलीले पसलमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा पसलबाट ७५ थान भरिएका हिमाल ग्यासका सिलिण्डर बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, बिहीबार साँझ करिब ६ः३० बजे भक्तपुर नगरपालिका–२ इटाछेबाट १४ वटा सगर ग्यासका सिलिण्डरसहित कर्मचार्यलाई पक्राउ गरिएको हो।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।