काठमाडौं– जेन–जी आन्दोलनका क्रममा भिमफेदी कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दाका फरार कैदीसहित ६ जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यरुोमा सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार काठमाडौं उपत्यकामा लागुऔषध बिक्री गर्ने व्यक्तिहरुको नियन्त्रण गर्ने क्रममा यही भदौ १८ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको अभियानमा कारागारबाट भागेका कैदीसहित पक्राउ परेका हुन् ।
पक्राउ परेकामध्ये काभ्रेको पाँचखाल–१२ घर भएका २९ वर्षीय निशान्त रसाईली २०७४ साल साउन १२ गते कर्तव्य ज्यान तथा डाँका चोरी मुद्दामा पक्राउ परी कैद भुक्तान गरिरहेका र गत वर्षको जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते भिमफेदी कारागारबाट फरार रहेका कैदी रहेको देखिएको छ ।
यस्तै गुल्मीको घुर्कोट गाउँपालिका–१ का ३० वर्षीय कस्मिर भुसाल पनि लागुऔषधसहित पक्राउ परेका छन् । भुसाल र रसाईलीलाई १८ गते प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले ७५ दशमलव ७८० ग्राम खैरो हेरोइन बरामद गरेको छ ।
यस्तै भदौ २० गते १५४ ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पर्साको छिपहरमाइ–५ का ४० वर्षीय उपेन्द्र कुमार, गोकर्णेश्वर–६ का २७ वर्षीय अभिषेक तामाङ, सिन्धुपाल्चोकको मेलम्ची–९ की २० वर्षीया सरला कार्की र भारतको मोतिहारी कल्वारी दुवाह थानाका २१ वर्षीय राहुल प्रसाद रहेका छन् ।
दुई दिनको अन्तरालमा पक्राउ परेका ६ जनाबाट प्रहरीले २२९ दशमलव ७८० ग्राम खैरो हेरोइन, डिजिटल तराजु दुई थान, ६ थान मोबाइल र एक लाख ६० हजार नगद रुपैयाँ बरामद गरेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।