काठमाडौं– वीरगञ्जको एक क्यासिनोमा छापा मार्दा नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि मा प्रवेश गरी जुवा खेलिरहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नेपाल प्रहरीका इन्स्पेक्टर प्रदीप पौडेल र पर्साको सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष ३६ वर्षीय जसवन्त यादव समेत छन्। जिल्ला प्रहरी कार्यालय पर्साका एसपी पवनकुमार भट्टराईका अनुसार क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा क्यासिनोका कर्मचारीसमेत पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्ने अन्यमा सखुवाप्रसौनी गाउँपालिका–६ का ३० वर्षीय चन्दन सहनी, वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा रहेका छन्।
त्यस्तै, नेपाली नागरिकलाई क्यासिनो प्रवेश गराएको आरोपमा क्यासिनोका कर्मचारी वीरगञ्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह पनि पक्राउ परेका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।