नुवाकोट। १० मिनेटअघि मात्रै लामुसोतीको गाउँ सामान्य थियो।
घरका आँगनमा मानिसहरुको चहलपहल थियो। कसैको घरमा खाना पाक्दै थियो। गोठमा गाईवस्तु र बाख्रा थिए। खेतमा धान थियो। वृद्ध आमाबुबा घरमै थिए। सुत्केरी महिला आराम गरिरहेकी थिइन्। बालबालिका विद्यालय गईरहेका थिए।
तर, १० मिनेटपछि त्यो दृश्य रहेन।
त्रिशूली अर्थात् ठूलो खोलातर्फबाट अचानक आएको भीषण बाढीले नुवाकोटको बेलकोटगढी नगरपालिका–७, लामुसोतीको भूगोल नै बदलिदियो। बस्तीका २८ घर माटो, हिलो र बालुवाको लेदोमुनि पुरिए। कतिपय घरको माथिल्लो तलासम्म हिलो भरियो। खेतबारी देखिन छाडे। गोठमा बाँधिएका चौपाया पुरिए। घरभित्र रहेका अन्न, भाँडाकुँडा, लत्ताकपडा, कागजात र वर्षौंको कमाइ केही मिनेटमै माटोमुनि पुगे।

२८ वर्षीय राजेन्द्र नेपाल बाढी आएको दिन खेतमा थिए।
धान खेती भइरहेको थियो। दिन सामान्य रुपमा बितिरहेको थियो। अचानक खोलामा पानी बढेको खबर आयो। ‘हामीलाई खोला आउँदैछ भनेर खबर आएको १० मिनेट मात्रै भएको थियो। म त्यतिबेला खेतमै थिएँ,’ उनले सम्झिए।
खबर पाउनासाथ गाउँमा भागदौड भयो। राजेन्द्र पनि घरतर्फ दौडिए। खोलाको पानीको वेग बढ्दै थियो। उनी रसुवा जाने मेन रोडतर्फ पुग्दा बाढी उनकै पछिपछि आइपुगेको थियो। ‘बाढीभन्दा दुई हात मात्रै अगाडि दौडेर माथिल्लो डाँडातिर पुगे,’ उनले भने।
त्यो दौड केवल सुरक्षित ठाउँमा पुग्ने दौड थिएन। त्यो जीवन र मृत्युबीचको दौड थियो। केही मिनेट ढिला भएको भए के हुन्थ्यो भन्ने प्रश्नको उत्तर, उनी आफैँसँग छैन।
ज्यान त जोगियो। तर, उनको घर जोगिएन। घरका दुई तलासम्म हिलो र माटो भरिएको छ। भान्छाका सामान, ग्याँस चुल्हो, लत्ताकपडा र घरका अन्य सामग्री सबै पुरिएका छन्।

आज राजेन्द्रको घर छैन। घर भएको ठाउँमा हिलो छ। रात परेपछि उनी परिवारसहित छिमेकीको घरको पिढीमा सुत्छन्। ‘अहिले हामी अरुकै घरको पिढीमा सुतिरहेका छौँ,’ उनले भने, ‘राहतमा चामल आएको छ। तर, चामल पकाउने साधन छैन। पानी परिरहेको मौसम छ। दाउरा भिजेर बल्दैन। ग्याँस चुल्हो सब पुरियो। धेरै गाह्रो भइरहेछ।’
राहतको एउटा बोरा चामलले केही दिन टार्न सक्छ। तर, घरको आवश्यकता टार्दैन। ग्याँस चुल्होले खाना पकाउन सक्छ। तर, सुरक्षित छानो दिन सक्दैन। राजेन्द्रलाई अहिले यही फरकले सताइरहेको छ।
बाढीको पानी अहिले घटिसकेको छ।
तर, लामुसोतीमा विपत्ति अझै सकिएको छैन।
यहाँका मानिसहरुका लागि बाढी अब नदीमा होइन, उनीहरुको दैनिक जीवनमा बगिरहेको छ। उनीहरूका अगाडि एउटै प्रश्न छ, ‘ज्यान त जोगियो, अब जीवन कसरी जोगाउने ?’
बाढीपछि लामुसोती पुग्दा घरहरु खोज्न कठिन हुन्छ। जहाँ कुनै समय घरका भित्ताहरु थिए, त्यहाँ अहिले हिलोको थुप्रो छ। जहाँ आँगन थियो, त्यहाँ बालुवाको लेदो छ। जहाँ चुलो थियो, त्यहाँ माटो छ। घरका सामान खोज्न मानिसहरु हातैले बालुवा र हिलो पन्छाइरहेका छन्।

७० वर्षीय लालप्रसाद नेपाल त्यही भीडमा आफ्नो घरको चिनो खोजिरहेका थिए। उनले वर्षौं बिताएको घर अब घरजस्तो देखिँदैन। न ढोका छ, न झ्याल। न आँगन छ, न भान्छा। हिलो खोतल्दै गर्दा उनको हातमा एउटा खिया लागेको फलामको रड आयो। उनले त्यो रडलाई केहीबेर नियाले। त्यसपछि अगाडि रहेको हिलोको थुप्रोतर्फ देखाउँदै भने, ‘मेरो घर यही हो।’
उनका लागि त्यो रड केवल फलामको टुक्रा थिएन। त्यो उनको घरको अन्तिम चिनो थियो।
लामुसोतीमा अहिले यस्ता चिनो खोज्ने २८ परिवार छन्। कसैले घरको ढोका खोजिरहेका छन्। कसैले भाँडाकुँडा। कसैले नागरिकता। कसैले लालपुर्जा। कसैले गहना। कसैले अन्न।
तर, सबैभन्दा बढी मानिसहरुले खोजिरहेका छन, आफ्नो पुरानो जीवन।
६८ वर्षीय लोकनाथ नेपालको कथा लामुसोतीको अर्को पीडादायी अध्याय हो। २०७२ सालको भूकम्पले उनको पुरानो घर ढालेपछि उनले फेरि घर बनाउने सपना देखे। सरकारले दिएको तीन लाख रुपैयाँ अनुदान पाए। बाँकी पैसा उनले आफ्नै कमाइबाट जुटाए।

१४ वटा पिलर हालेर पक्की ढलान घर बनाए। घर निर्माणमा करिब २७ लाख रुपैयाँ खर्च भएको उनको भनाइ छ। भूकम्पपछि फेरि उठेको त्यो घर उनको लागि केवल संरचना थिएन। त्यो विपत्तिपछि फर्किएको जीवनको प्रतीक थियो। तर, अहिले त्यो घर छैन।
बाढीले घरलाई यति गहिरोसँग पुरेको छ कि त्यसको निसानसमेत पहिचान गर्न कठिन छ।
लोकनाथको स्वरमा पीडा छ।
‘मलाई के थाहा, दुःखजिलो गरेर बनाएको घर एकै मिनेटमा सखाप हुन्छ भनेर?’ केहीबेर रोकिएर उनले थपे, ‘भूकम्पले पर्खाल ढालेको थियो, यो बाढीले त घरको निसान नै मेटाइदियो।’
उनको साढे चार रोपनी जग्गासमेत बाढीको चपेटामा परेको छ। घर, खेतबारी, तीन वटा खसी, दुई वटा बाख्रा, १८–१९ क्विन्टल धान, खाट, दराज, भाँडाकुँडा, गहना—उनले आफ्नो जीवनमा जोडेको अधिकांश सम्पत्ति माटोमुनि पुगेको छ। उनका अनुसार कुल क्षति करिब पाँच करोड रुपैयाँ बराबरको छ।
बाढीले लोकनाथको घर मात्र पुरेन। उनको नागरिकता, लालपुर्जा र अन्य महत्वपूर्ण कागजातसमेत पुरिएका छन्। ‘हामीसँग अहिले केही पनि बाँकी छैन,’ उनले भने, ‘नाङ्गो भएका छौँ।’
६८ वर्षको उमेरमा फेरि घर बनाउनुपर्ने अवस्था कल्पना गर्दा उनको आँखामा असहायपन देखिन्छ। ‘कमाउने उमेर पनि ढलिसक्यो। अब गरिखाने ठाउँसमेत रहेन।’
श्रीकृष्ण नेपालको परिवारमा अहिले राहतभन्दा ठूलो चिन्ता सुरक्षा हो। उनको साढे तीन तलाको घर बाढीले पुरेको छ। साढे चार रोपनी खेत पनि प्रभावित भएको छ। घरमा ८८ वर्षीया वृद्ध आमा छन्। परिवारमा सुत्केरी महिला पनि छिन्। कुल सात जना सदस्य अहिले अस्थायी आश्रयको खोजीमा छन्।
बाढी आउनुअघि कुनै सरकारी निकायबाट पर्याप्त पूर्वसूचना नआएको श्रीकृष्णको गुनासो छ। ‘घरमा बसिरहेको अवस्थामा माथिबाट बाढी आयो। त्यो देखेर भाग्यौँ। ज्यान त जोगियो, तर, घरभित्र अन्डरग्राउन्डमा रहेका भान्छाका सामान, चौपाया, धनसम्पत्ति र गहना सबै पुरियो।’
उनका तीन वटा खसी र दुई वटा बाख्रा पनि बाढीमा पुरिएका छन्। छोरा वैदेशिक रोजगारीका लागि विदेश गएको एक महिना पनि भएको छैन। छोरी र बुहारीको आवतजावत गर्ने बाटोसमेत प्रभावित भएको छ।

यस्तो अवस्थामा ८८ वर्षीया वृद्धा र सुत्केरी महिलालाई वर्षामा खुला ठाउँमा राख्नु कति जोखिमपूर्ण हुन्छ भन्ने उनीहरु आफैँभन्दा बढी कसले बुझ्ला ? ‘त्रिपालमुनि बस्न कठिन भइरहेको छ,’ श्रीकृष्णले भने, ‘वृद्ध आमा र सुत्केरीको सुरक्षाका लागि टिनको टस हालेर भए पनि तत्काल अस्थायी बासको व्यवस्था गरिदिनुपर्छ।’
पूर्वसूचना : १० मिनेट पर्याप्त थियो कि थिएन?
लामुसोतीको घटनाले प्राकृतिक विपत्तिसँगै अर्को महत्वपूर्ण प्रश्न उठाएको छ, पूर्वसूचना प्रणाली कति प्रभावकारी थियो ?
पीडितका अनुसार बाढी आउनुभन्दा करिब १० मिनेटअघि मात्रै सूचना पुगेको थियो। त्यो सूचना पाएपछि धेरै मानिसले ज्यान जोगाउन सके। यस अर्थमा १० मिनेट उनीहरुका लागि जीवनदायी बन्यो। तर, अर्को प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ, यदि सूचना केही समय पहिले आएको भए के उनीहरुले आफ्नो चौपाया, महत्वपूर्ण कागजात, औषधि, खाद्यान्न वा आवश्यक सामान जोगाउन सक्थे ?
बाढीको वेगका अगाडि घर जोगाउन सम्भव नहुन सक्छ।
तर, मानिसलाई सुरक्षित स्थानमा पुर्याउन, वृद्धवृद्धा र बालबालिकालाई निकाल्न, पशुचौपाया सार्न र आवश्यक कागजात तथा औषधि सुरक्षित गर्न केही अतिरिक्त समयले ठूलो फरक पार्न सक्छ।
लामुसोतीको घटनाले पूर्वसूचनाको पहुँच मात्र होइन, त्यसको समय, विश्वसनीयता र स्थानीय तहसम्मको प्रभावकारी सम्प्रेषणबारे पनि गम्भीर बहस आवश्यक बनाएको छ।
जनप्रतिनिधिको खोजीमा पीडित
विपत्तिपछि स्थानीय सरकार र जनप्रतिनिधिको भूमिका सबैभन्दा बढी अपेक्षा गरिन्छ। तर, श्रीकृष्णको गुनासो फरक छ। 'दुर्भाग्यको कुरा, घटनापछि वडाध्यक्ष वा अन्य जनप्रतिनिधि कोही पनि आएनन्,' उनले भने।
यस्तो गुनासोले विपद्को समयमा राज्यको उपस्थिति कसरी अनुभूत हुन्छ भन्ने प्रश्न उठाउँछ। विपद्को समयमा एउटा परिवारलाई केवल राहत सामग्री होइन, आफ्नो दुःख सुनिदिने मान्छे पनि चाहिन्छ।
कसैको नागरिकता पुरिएको छ भने पुनःप्राप्तिको प्रक्रिया कसरी सुरु गर्ने ? लालपुर्जा पुरिएको छ भने प्रमाण कसरी जुटाउने ? घर पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रमाण कसले बनाउने ? पशुचौपाया पुरिएको छ भने क्षतिपूर्ति कसरी लिने ? खेतीयोग्य जमिनमा बालुवा भरिएको छ भने किसानले आगामी वर्ष खेती कहाँ गर्ने ?
यी प्रश्नहरुको उत्तर, राहतको बोरा वितर,णले मात्र दिँदैन।
राहतको बोरा र पुनःस्थापनाको पहाड
लामुसोतीका परिवारलाई अहिले खाद्यान्न आवश्यक छ। पिउने पानी आवश्यक छ। लत्ताकपडा आवश्यक छ। अस्थायी बास आवश्यक छ। तर, केही दिनपछि राहतको चामल सकिन्छ। त्रिपाल च्यातिन्छ। वर्षा रोकिन्छ।
त्यसपछि ?
त्यसपछि सुरु हुन्छ वास्तविक चुनौती, पुनःस्थापना। २८ परिवारलाई सुरक्षित स्थानमा सार्नुपर्ने हो भने कहाँ सार्ने ? नयाँ ठाउँमा जग्गा कसरी उपलब्ध गराउने ? घर कसरी बनाउने ? वृद्ध, महिला, बालबालिका र सुत्केरीका लागि विशेष व्यवस्था कसरी गर्ने ? कागजात गुमाएका नागरिकको नागरिकता र जग्गासम्बन्धी प्रमाण कसरी पुनःस्थापित गर्ने ? किसानले गुमाएको अन्न र पशुचौपायाको क्षतिपूर्ति कसरी गर्ने ?
यी प्रश्नहरु अहिले नै सम्बोधन गर्नुपर्ने छन्।
नत्र राहत वितर,णको प्रारम्भिक उत्साह सकिएपछि लामुसोतीका परिवारको पीडा समाचारबाट हराउन सक्छ।
विपत्तिबाट बचेका मानिसहरू प्रायः एउटै कुरा भन्छन्, 'ज्यान त बच्यो।'
लामुसोतीका मानिस पनि यही भन्छन्। तर, ज्यान बचेपछि सुरु हुने जीवन कति कठिन हुन्छ भन्ने कुरा उनीहरूले अहिले भोगिरहेका छन्। राजेन्द्रलाई आफ्ना बालबच्चा सुरक्षित छन् भन्ने सन्तोष छ। लोकनाथलाई परिवारका सदस्य बाँचे भन्ने राहत छ। श्रीकृष्णलाई वृद्ध आमा र सुत्केरी जोगिए भन्ने खुसी छ।
तर, त्यसपछि उनीहरु फेरि आफ्नो पुरानो जीवनतर्फ फर्किन खोज्दा त्यहाँ केही छैन। घर छैन। गोठ छैन। धान छैन। खेत छैन। सामान छैन। कतिपयको कागजात छैन। र सबैभन्दा महत्वपूर्ण—पुरानो ठाउँमा फर्केर उभिने आधारसमेत छैन।
लामुसोतीलाई अहिले केवल सहानुभूति चाहिएको छैन। उसलाई योजनाबद्ध सहयोग चाहिएको छ। पहिलो चरणमा सुरक्षित अस्थायी बास। त्यसपछि खाद्यान्न, खानेपानी, स्वास्थ्य सेवा, कपडा र आवश्यक दैनिक सामग्री। पशुचौपायाको क्षतिको मूल्यांकन। बालबालिकाको शिक्षा निरन्तर,ता। महिला, सुत्केरी, वृद्धवृद्धा र अशक्तका लागि विशेष सुरक्षा। त्यसपछि मात्र दीर्घकालीन पुनःस्थापना। यदि पुरानो बस्ती जोखिमयुक्त बनेको हो भने वैज्ञानिक अध्ययन गरेर सुरक्षित स्थानमा पुनःस्थापना आवश्यक हुन सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।