काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागमा कार्यरत तत्कालीन कम्प्यूटर अपरेटरलाई लिखत सम्बन्धी कसूरमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विभागमा कार्यरत तत्कालीन कम्प्यूटर अपरेटर राजीव महतो रहेका छन् । उनले नेपाली पोर्ट प्रणालीमा रहेको पहुँच तथा पदको दुरुपयोग गरी कानुन बमोजिम भिसा शुल्कसमेत प्राप्त नगरी भिसा जारी गरेको, सरकारी राजश्व हिनामिना गरेको तथा सरकारी कागजात कीर्ते गर्ने गरेको पाइएको छ ।
उक्त क्रममा राजीव महतोले लक्जेम्बर्गका नागरिकले नियमानुसार १ लाख ५९ हजार ४०८/-(१ हजार २०० अमेरिकी डलर) राजश्व दाखिला गरी प्राप्त गरेको आवासीय भिसा नम्बर E240000001 लाई २०८० फागुन ९ गते ट्राभल सेन्ट्रलाइजेशन सिस्टममार्फत बदनियतपूर्ण कार्य गरी अमेरिकी नागरिकको नाममा गैरकानुनी रूपमा भिसा क्रियट र अप्रुभ गरी भिसा जारी गरेको कसुरमा पक्राउ गरिएको अख्तियारले जनाएको छ । रौतहटको साविक भलोहिया गाविस–२ स्थायी घर भएका ३० वर्षीय राजीवलाई बुधबार जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको थियो ।
बिहीबार ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथलीबाट पक्राउ गरी लिखतसम्बन्धी कसुरमा यस ब्यूरोको हिरासतमा राखी लिखत सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।