पामु तामाङ (बायाँ)
काठमाडौं– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल अगाडिको एउटा बेन्चमा १४ वर्षीया पामु तामाङ एकोहोरो भएर बसिरहेकी छन्।
गत १० भदौमा भोटेकोशी नदीमा विनाशकारी बाढी आएयता उनले आफ्ना बुबा दावाफुन्जो तामाङ र आमा तेन्साङमु तामाङ (सानु)को कुनै खबर पाएकी छैनन्।
‘म धेरै डराएकी छु। उहाँहरू सामान्यतया यति लामो समयसम्म फोन नगरी कहिल्यै बस्नु हुँदैनथ्यो। तर, यसपल्ट फोन नगर्नुभएको सात दिन भइसक्यो,’ उनी भन्छिन्।
मंगलबार नेपालको सबैभन्दा ठूलो शैक्षिक अस्पतालको परिसरमा देखिएको पामुको पीडा अपवाद थिएन। सयौं मानिस आफ्ना बेपत्ता बुबा, आमा, श्रीमान वा छोराछोरीका तस्बिर बोकेर अस्पताल परिसरमा ओहोरदोहोर गरिरहेका थिए। उनीहरूको अनुहारमा निराशा प्रस्ट देखिन्थ्यो।

अस्पतालका भित्ता, बार र सूचना पाटी बेपत्ता मानिसका तस्बिरले भरिएका छन्। ती तस्बिरले बाटो हिँड्ने सयौं मानिसहरूलाई मौन रूपमा हेरिरहेका छन्। यी तस्बिरमा भएका अनुहार हुन्– चालक, इन्जिनियर, गाइड, विद्यार्थी, कामदार र भिक्षुका।
तीमध्ये धेरैजसो बाढीको चपेटामा परेका नदी किनारका क्षेत्रमा पर्यटन व्यवसायसँग पनि जोडिएका छन्। त्रिशूली र भोटेकोशी सामान्य अवस्थामा जलयात्रा र कायाकिङका लागि चर्चित गन्तव्य हुन्। विश्वभरबाट साहसिक पर्यटक त्यहाँ पुग्ने गर्छन्।
कतिपय स्याब्रुबेसी र टिमुरेजस्ता सीमावर्ती बस्ती पुग्ने सडकमा ट्रक चलाउँथे। नेपाल र तिब्बत जोड्ने यो मुख्य सम्पर्क मार्ग हो। गत साता यही बाटो हुँदै हजारौं तीर्थयात्री पवित्र कैलाश पर्वततर्फ पनि गएका थिए।

पामुका बाबुआमा पनि ट्रक लिएर रसुवा भन्सारसम्म पुगेका थिए। ‘उहाँहरू भन्सार छुटेपछि सोही दिन बिहान फर्किने तयारीमा हुनुहुन्थ्यो। तर, बिहान स्कुल जानुअघि नै त्यहाँ बाढी आएको भन्ने समाचार सुनियो। त्यसयता उहाँहरू फर्किनु भएको छैन,’ उनी भन्छिन्।
४२ वर्षीया सीता लामा आफ्ना श्रीमानको तस्बिरतिर हेरिरहेकी छन्। उनले आफ्नो श्रीमानको तस्बिर एउटा खम्बाको माथिल्लो भागमा टाँसेकी छन्। ‘म मेरा श्रीमान कहाँ छन् भन्नेर जान्न चाहन्छु,’ उनी बारम्बार भन्छिन्।
उनका ४० वर्षीय श्रीमान राजकुमार लामा पामुका बाबुआमाजस्तै ट्रक चालक हुन्। सात दिनअघि तिब्बतको सीमाछेउ टिमुरे आसपासको क्षेत्रमा उनी बेपत्ता भएका थिए।
टाउकोमा ओढेको पछ्यौरीमुनिबाट श्रीमानको तस्बिर निकाल्दै भन्छिन्,‘मैले उहाँसँग बिहे गरेको २३ वर्ष भयो। हामी सानै उमेरमा विवाह बन्धनमा बाँधिएका थियौं। त्यसयता मेरो सहारा भनेकै उहाँ हुनुहुन्थ्यो। म उहाँबिना बाँच्न सक्दिनँ। उहाँ फर्केर आउनुभएन भने म कसरी अगाडि बढ्ने होला?,’ उनी प्रश्न गर्छिन्।
.jpeg)
सात दिनदेखि हराइरहेका आफन्तका पोस्टर टाँस्न बूढाबूढीदेखि बालबालिकासम्म अस्पताल परिसरमा धाइरहेका छन्। हरेक घण्टा परिसरमा पोस्टरहरू थपिँदै गइरहेका हुन्छन्। त्योसँगै आफ्नो आफन्त फर्केर आउने आशा पनि उत्तिकै कमजोर हुँदै गइरहेको छ।
‘यो अस्पतालमा मात्र होइनन्,’ एक कर्मचारीले सबै तस्बिरतिर देखाउँदै भनिन्,’काठमाडौंमा करिब १० वटा सरकारी अस्पताल छन्। अहिले यस्तै दृश्य सबै ठाउँमा देख्न सकिन्छ।’
२०१५ को भूकम्पबाट सिकेको अनुभव
अस्पतालभित्र चिकित्सक र कर्मचारीको टोली विपत्तिले ल्याएको अवस्थासँग जुधिरहेको छ। अस्पतालका उपनिर्देशक गोपाल सेढाईका अनुसार पहिलो सूचना आउनासाथ आपत्कालीन कार्यविधि सक्रिय गरिएको थियो। अहिले उनी प्रशासकभन्दा बढी चिकित्सकको भूमिकामा देखिन्छन्।
विनाशकारी २०१५ को भूकम्पका क्रममा प्राप्त अनुभवले अस्पताललाई अहिलेको संकट सामना गर्न पनि सहयोग गरेको छ। ‘हाम्रा विपद् व्यवस्थापन टोली तयारी अवस्थामा थिए,’ उनी भन्छन्।
.jpeg)
विभिन्न वर्गका घाइते तथा प्रभावितलाई राख्न अस्पतालमा थप ठाउँको व्यवस्था गरिएको थियो। अहिलेसम्म ६० भन्दा बढी घाइते अस्पताल भर्ना भएका छन्। तीमध्ये तीन जना सघन उपचार कक्षमा छन्। एक जना बिरामीले चोटकै कारण ज्यान गुमाइसकेका छन्।
तर‚ अस्पतालका लागि सबैभन्दा ठूलो व्यवस्थापकीय चुनौती घाइतेहरू होइनन्। मृतकको व्यवस्थापन रहेको छ। अस्पतालमा करिब ९०० शय्या छन्। तर‚ शव राख्न ५० देखि १०० जनासम्मको मात्र ठाउँ छ।
‘हामी ठूलो संख्यामा मृत्यु भएका मानिसको शव व्यवस्थापन गर्नै सक्दैनौं,’ डाक्टर सेढाई भन्छन्। त्यसैले अस्पताल र सरकारी निकाय मिलेर आपत्कालीन उपाय अघि बढाइरहेका छन्। शवलाई अस्थायी रूपमा गाड्नुअघि डीएनए नमुना लिइएको छ। तस्बिर खिचेर राखिएको छ। त्यसपछि परिवारका सदस्यले पछि दिन मिल्ने गरी शवलाई अस्थायी रूपमा गाडिएको छ।
.jpeg)
धेरै नेपालीका लागि यो ठूलो आघात हो। मुख्यतः हिन्दु संस्कृतिमा मृतकको अन्त्येष्टि नदीको किनारमा दाहसंस्कार गरेर गर्ने परम्परा छ। तर‚ विपत्तिको विशालताका कारण अहिले ती परम्पराबाट बाध्यतावश पछाडि हट्न परेको छ। ठूलो संख्यामा शव लामो समयसम्म बेवारिसे अवस्थामा राख्दा स्वास्थ्य जोखिम अत्यधिक हुने सेढाईको भनाइ छ।
‘हामीले सर्न सक्ने रोगबारे पनि सोच्नुपर्छ। हामी त्यो जोखिम मोल्न चाहँदैनौं,’ उनी भन्छन्। अस्पतालबाहिर भने आफन्तको प्रतीक्षा रोकिएको छैन।
एउटा टेबलमा बसेका एक कर्मचारीले बेपत्ता मानिसका नाम लगातार ठूलो ‘माइन्ट’मा टिपिरहेका छन्। प्रहरीका अनुसार ४ हजार ६०६ जना अझै सम्पर्कविहीन छन्। त्यसमध्ये २ हजार ६८३ जना स्वदेशी र ५८३ जना विदेशी नागरिक छन्।
.jpeg)
विपत्तिमा हालसम्म १ हजार ६८ वटा शव फेला परेका छन्। मंगलबार रातिसम्म ३० बालक, ३५ बालिका, २३२ महिला र ३७१ पुरुषका शव फेला परेका हुन्। त्यस्तै, चार सय वटा आंशिक मानव अंग फेला परेका छन्।
त्यसमध्ये १ हजार ५६ जनाको शव जाँच भएको प्रहरीले जनाएको छ। ५८ जनाको शव भने सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ। अझ ९१३ शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।
उक्त शवलाई पहिचान गर्न वेबसाइटमा ‘अपलोड’ गरिएको छ। सीमाको चिनियाँतर्फ पनि मृतकको संख्या बढिरहेको छ। यद्यपि‚ नेपालको तुलनामा त्यहाँको संख्या निकै कम छ। चीनतर्फ हालसम्म करिब २० जनाको मृत्यु भएको छ।
.jpeg)
यी सबै अंकका बीच अस्पताल परिसरमा घुमिरहेका मानिस भने एउटा मात्र नाम खोजिरहेका छन्। पामु तामाङ केही मिटर पर अझै त्यही बेन्चमा बसिरहेकी छन्। उनका बुबा दावा र आमा तेन्साङमुको कुनै अत्तोपत्तो छैन। अहिले उनीसँग उनकी कान्छी बहिनी मात्र छिन्।
तर‚ वरिपरि फैलिएको निराशाले उनलाई रत्तीभर कमजोर बनाएको छैन। उनलाई अर्को सम्भावनामा पनि विश्वास छ।
‘म आफूलाई सकारात्मक सोचिरहन बाध्य बनाइरहेको छु। मेरो मम्मी ड्याडी अझै हुनुहुन्छ र फर्केर आउनुहुन्छ भन्ने विश्वास छ,’ यति भन्दै उनी दुवै हात जोडेर आकाशतिर हेर्छिन्।
उनी थप्छिन्,‘म भगवानसँग धेरै प्रार्थना गरिरहेको छु। उहाँहरूलाई सकुशल देख्न पाइयोस्। भगवानकै कृपाले उहाँहरू यो कठिन बाटो पार गर्न सक्नुहुन्छ भन्ने कुरामा मेरो पूर्ण विश्वास छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।