काठमाडौं–पृथ्वी राजमार्गअन्तर्गत क्षतिग्रस्त कृष्णभीर खण्ड सञ्चालन तथा दीर्घकालीन समाधानका लागि सरकारले तत्काल र दीर्घकालीन योजना अघि बढाउने निर्णय गरेको छ।
मंगलबार बसेको पूर्वाधार विकास मन्त्रालयको बैठकले कृष्णभीरको हिलसाइडमा ग्याबियन ब्रेस्ट वालमाथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने संरचना तत्काल निर्माण गर्ने निर्णय गरेको हो। ट्र्याक खोल्ने क्रममा सेक्रिफिसियल ग्याबियन बक्स तथा बोल्डर हिलसाइडबाट तल खसाल्ने काम पनि गरिनेछ।
दीर्घकालीन समाधानका लागि सुरुङ, सोइल नेलिङ र सिट पाइल लगायतका विकल्पबारे सडक विभागले अध्ययन गर्ने भएको छ। साथै कृष्णभीरको विकल्पका रूपमा सुरुङ वा बाइपास सडक निर्माणको सम्भाव्यता तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने निर्णय भएको छ।
अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने र आवश्यक परे सडक विभागसँग समझदारीपत्र गर्ने मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।