काठमाडौं – अपर त्रिशूली–३ बी आयोजनामा बाढीपछि सम्पर्कविहीन भएका इन्जिनियर हेमन्तराज जोशीकी बहिनी साबित्री जोशीले प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै आफ्ना दाइको खोजी तथा उद्धारका लागि प्रभावकारी पहल गरिदिन आग्रह गरेकी छन्।
छ दिनदेखि परिवारजन आफ्ना आफन्त सकुशल भेटिने आशामा पर्खिरहेको उल्लेख गर्दै उनले सम्पर्कविहीन भएका व्यक्तिहरूलाई केवल तथ्यांक वा संख्याका रूपमा नहेर्न आग्रह गरेकी छन्।
प्रधानमन्त्रीलाई लेखेको पत्रमा साबित्रीले भनेकी छन्, “अपर त्रिशूली–३ बी आयोजनामा सम्पर्कविहीन भएका हरेक व्यक्ति केवल एउटा संख्या होइनन्। उनीहरू कसैका छोरा हुन्, कसैका दाइभाइ हुन्, कसैका श्रीमान् हुन्, कसैका बाबु हुन्, कसैका परिवारका सहारा हुन्।”
यस्तो छ पत्र:
सम्माननीय प्रधानमन्त्रीज्यू,
छ दिनदेखि धेरै परिवार एउटै आशामा बाँचेका छन्—आफ्ना मान्छे सकुशल भेटिनेछन्। अपर त्रिशूली–३ बी आयोजनामा सम्पर्कविहीन भएका हरेक व्यक्ति केवल एउटा संख्या होइनन्। उनीहरू कसैका छोरा हुन्, कसैका दाइभाइ हुन्, कसैका श्रीमान् हुन्, कसैका बाबु हुन्, कसैका परिवारका सहारा हुन्।
तीमध्ये मेरो दाइ इन्जिनियर हेमन्तराज जोशी पनि पर्नुहुन्छ।
छैटौँ दिनदेखि हाम्रो परिवारको हरेक घण्टा डर, पीडा, आशा र आँसुबीच बितिरहेको छ। हरेकपटक फोन बज्दा मनले भन्छ—‘दाइ भेटिनुभयो भन्ने खबर आयो होला।’ तर फोन उठाउँदा फेरि निराशा मात्र हात लाग्छ।
प्रधानमन्त्रीज्यू,
कसैलाई दोष लगाउनु छैन। हामीलाई आरोप–प्रत्यारोप गर्नु छैन। राजनीति गर्नु छैन। कसैको भावनामा खेल्नु पनि छैन। हामीलाई केवल हाम्रा मान्छे चाहिएको हो।
जसरी हिजो हामीले आशा र विश्वासका साथ यो सरकारलाई आफ्नो मत दिएर पठायौँ, आज त्यही राज्यसँग संकटमा परेका आफ्ना नागरिकको जीवन बचाइदिन आग्रह गरिरहेका छौँ। राज्यलाई प्रश्न गर्नु हाम्रो अधिकार हो। सहयोग माग्नु अधिकार हो। आफ्ना सन्तानको जीवनका लागि सरकारसँग गुहार माग्नु कुनै राजनीति होइन। सामाजिक सञ्जालमा एक–अर्कालाई दोष लगाउने, परिवारजनलाई थप त्रसित बनाउने, पीडामाथि पीडा थप्ने वा अनावश्यक राजनीतिक बहस गर्नेभन्दा अहिले उद्धारमा केन्द्रित होऔँ।
हिजो के भयो, कुन देशमा के भएको थियो, कसले के गरेको थियो भन्ने अनुभव र उदाहरणहरू हामीले पनि बुझेका छौँ। अहिले हामीलाई त्यसको पाठ पढाउनुभन्दा हाम्रा मान्छे खोज्न र बचाउन सहयोग चाहिएको छ।
प्रधानमन्त्रीज्यू,
उद्धार कठिन छ। भूगोल कठिन छ। सुरुङभित्र जोखिम छ—हामी बुझ्छौँ। ज्यान जोखिममा राखेर उद्धारमा खटिनुभएका सेना, प्रहरी, सुरक्षाकर्मी, प्राविधिक तथा सम्पूर्ण उद्धार टोलीप्रति हाम्रो उच्च सम्मान छ। मानव जीवनभन्दा ठूलो कठिनाइ अर्को हुन सक्दैन। आवश्यक उपकरण नेपालमा छैन भने विदेशबाट ल्याइयोस्। पर्याप्त प्राविधिक जनशक्ति छैन भने थप जनशक्ति ल्याइयोस्। विशेषज्ञ आवश्यक छन् भने देश–विदेश जहाँबाट सम्भव हुन्छ, बोलाइयोस्।
एउटा बाटो बन्द छ भने अर्को बाटो खोजियोस्। एउटा प्रविधिले काम गरेन भने अर्को प्रविधि प्रयोग गरियोस्। समयलाई त्यसै बित्न नदिइयोस्।
हामीलाई केवल ‘खोजी भइरहेको छ’ भन्ने जानकारी मात्र होइन, खोजी कहाँसम्म पुग्यो, कुन–कुन क्षेत्रमा खोजी भइरहेको छ, के–कस्ता प्रविधि प्रयोग भइरहेका छन् र अबको कार्ययोजना के हो—त्यसको स्पष्ट र नियमित जानकारी चाहिएको छ। यदि सुरुङभित्र छन् भने उनीहरूको अवस्था पत्ता लगाइयोस्। अन्यत्र पुगेका हुन सक्छन् भने सम्भावित सबै स्थानमा खोजी गरियोस्।
सुरुङ, पावरहाउस, पहुँचमार्ग, नदी आसपास तथा उनीहरू पुग्न सक्ने हरेक सम्भावित स्थानमा खोजी गरियोस्। कुनै सम्भावना बाँकी नराखियोस्। विकल्प बाँकी नराखियोस्। अन्तिम सम्भावनासम्म पुगेर खोजी गरियोस्।
प्रधानमन्त्रीज्यू,
आज हाम्रो परिवार मात्र रोइरहेको छैन। कसैकी आमा छोराको बाटो हेर्दै हुनुहुन्छ। कसैका बुबा आफ्नो सन्तानको खबर पर्खिरहेका छन्। कसैकी श्रीमती श्रीमान्को फोनको प्रतीक्षामा छिन्। कसैका छोराछोरी ‘बाबा कहिले आउने हुन्?’ भनेर सोधिरहेका होलान्। त्यसैले यो केवल एउटा उद्धार अभियान होइन—उद्धार राज्यको मानवीय दायित्व र परीक्षा हो।
अन्ततः कुनै अनिष्ट भएको पुष्टि हुन्छ भने पनि परिवारलाई केवल शव संकलन गरेर आफ्नो जिम्मेवारी पूरा भएको अनुभूति गराउनु पर्याप्त हुँदैन। प्रत्येक परिवारलाई सत्य, पहिचान, सम्मान र आफ्ना प्रियजनको अन्तिम संस्कार गर्ने अधिकार सुनिश्चित गरिनुपर्छ।
अहिले नै आशा छोड्ने समय होइन। अझै आशावादी छौँ। सायद हाम्रा मान्छेहरू जीवितै छन्। उनीहरू उद्धार टोलीको प्रतीक्षामा छन्।
सायद अझै ढिला भएको छैन।
त्यसैले, प्रधानमन्त्रीज्यू—
कृपया सम्पूर्ण राज्य संयन्त्र परिचालन गरियोस्। कृपया उद्धारमा कुनै स्रोत–साधनको कमी हुन नदिइयोस्। आवश्यक परे देश–विदेशबाट उपकरण र विशेषज्ञ ल्याइयोस्। हरेक सम्भावित विकल्प प्रयोग गरियोस्।
कृपया हाम्रा मान्छेहरूलाई सकुशल घर फर्काउने अन्तिम प्रयाससम्म हार नमान्नुहोस्। हामी सरकारको साथमा छौँ।
उद्धार टोलीको साथमा छौँ। राज्यका हरेक सकारात्मक प्रयासको साथमा छौँ। हाम्रो साथ र समर्थनको अर्थ चुप लागेर बस्नु चाहिँ होइन, बरु सरकारलाई अझ बलियो भएर काम गर्न आग्रह गर्नु हो।
हामीलाई फेसबुकका ठूला–ठूला स्टाटस होइन, हाम्रा मान्छेको खबर चाहिएको छ। हामीलाई बहाना होइन, परिणाम चाहिएको छ। तत्काल उद्धार चाहिएको छ। सत्य जानकारी चाहिएको छ।
र सबैभन्दा ठूलो कुरा—हामीलाई हाम्रा मान्छे चाहिएका छन्। दाइ चाहिएका छन्। हाम्रा सन्तान चाहिएका छन्। सकुशल घर फर्किएको हेर्न चाहेका छौँ।
प्रधानमन्त्रीज्यू,
मेरो दाइ इन्जिनियर हेमन्तराज जोशीलाई खोजियोस्। प्रतीक्षामा रहेका अरू सबैलाई खोजियोस्। परिवारजनको आशालाई निराशामा परिणत हुन नदिइयोस्। कृपया ढिला नगरियोस्। उद्धारमा सम्पूर्ण शक्ति लगाइयोस्। हाम्रा मान्छेहरूलाई सकुशल घर फर्काइयोस्।
लेखक भोटेकोशी बाढीपछि सम्पर्कविहीन इन्जिनियर हेमन्तराज जोशीकी बहिनी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।