रामेछाप– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा भ्रम सिर्जना गरी ठगी गर्न खोजेको आरोपमा रामेछाप प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–२, ठोसेका ३२ वर्षीय भगवान कार्कीलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि नेपाल सरकारद्वारा सञ्चालन गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै कार्कीले नक्कली बैंक कारोबार विवरण तयार गरी सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार कार्कीले ‘च्याटजिपीटी’को प्रयोग गरी उक्त नक्कली विवरण तयार गरेका थिए।
उनले २७ अगस्ट २०२६ मा विद्युतीय भुक्तानी सेवामार्फत १ लाख २० हजार रुपैयाँ दानका रूपमा भुक्तानी गरिएको देखाइएको छ। विवरणमा रकम प्राप्त गर्ने संस्थाको नाम प्रधानमन्त्रीको दैवी प्रकोप उद्धार कोष उल्लेख गरिएको छ।
तर‚ उक्त विवरण नक्कली रहेको खुलेपछि प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।