काठमाडौं –चौधरी फाउन्डेसन र नबिल बैंकले भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाएका छन् ।
फाउन्डेसन र बैंकले बाढीमा आफ्ना प्रियजन गुमाएका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै विपद्बाट प्रभावित सबैको सुरक्षा, साहस तथा शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
चौधरी फाउन्डेसन र नबिल बैंकले बाढी प्रभावित समुदायलाई राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने साझा प्रतिबद्धतासहित बहुचरणमा कार्यान्वयन गरिने बृहत् राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेका छन् । उक्त कार्यक्रमको अनुमानित लागत करिब १५ करोड रुपैयाँ रहेको छ ।
यस पहलमार्फत बाढी प्रभावित परिवारका तत्कालीन आवश्यकतालाई सम्बोधन गर्नुका साथै उनीहरूलाई आपत्कालीन राहतबाट सुरक्षित आवास, पुनर्स्थापना तथा दीर्घकालीन सामुदायिक उत्थानशीलतातर्फ अघि बढ्न आवश्यक सहयोग उपलब्ध गराइनेछ ।
कार्यक्रमको पहिलो चरणअन्तर्गत चौधरी फाउन्डेसन र नबिल बैंकले प्रभावित परिवारलाई खाद्यान्न, आवश्यक खोप तथा स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएका छन् । यस कार्यलाई निरन्तरता दिने फाउन्डेसन र बैंकले जनाएको छ ।
राहत प्याकेजमा तयार खाना, खानेपानी, बिस्कुट, लत्ताकपडा, तिरपाल, व्यक्तिगत सरसफाइका सामग्रीलगायत अत्यावश्यक वस्तुहरू समावेश छन् ।
पहिलो चरणअन्तर्गतका राहत सामग्री भदौ ११ गतेदेखि प्रभावित क्षेत्रमा पुर्याउन थालिएको हो । यस कार्यका लागि चौधरी फाउन्डेसन र नबिल बैंकका कर्मचारीहरू स्थानीयस्तरमा परिचालित भइसकेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।