काठमाडौं– आन्तरिक राजस्व विभागले करदातालाई थप सहज र प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ ‘ट्याक्स पोर्टल’ सार्वजनिक गरेको छ ।
मंगलबार लाजिम्पाटस्थित विभागको कार्यालयमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक डा.भीष्मकुमार भूसालले नयाँ पोर्टल सार्वजनिक गर्दै सुरुआती चरणमा एक महिनासम्म पुरानो र नयाँ दुवै प्रणाली सञ्चालनमा रहने जानकारी दिए ।
उनले करदातालाई नयाँ प्रणाली प्रयोग गर्न अभ्यस्त बनाउन पुरानो प्रणाली पनि तत्काल बन्द नगरिएको बताए । अहिले दुवै पोर्टलको बाह्य स्वरूप करिब उस्तै राखिएको भएपनि एक महिनापछि पुरानो प्रणाली बन्द भएपछि नयाँ पोर्टलको थप आकर्षक र प्रयोगकर्तामैत्री इन्टरफेस पूर्ण रूपमा लागू हुने उनले बताए।
उनले भने,‘अहिले करदातालाई कन्फ्युजन नहोस् भनेर नयाँ र पुरानो भर्सनको इन्टरफेस उस्तै राखेका छौँ। नयाँ भर्सन प्रयोग गर्न प्रोत्साहित गर्छौं, तर सुरुआती चरणमा प्राविधिक समस्या देखिएमा पुरानो प्रणाली पनि एक महिनासम्म यथावत् रहन्छ।’
नयाँ प्रणाली सबै प्रकारका ब्राउजरमा सहज रूपमा सञ्चालन हुने विभागले जनाएको छ। यसअघि मोजिल्ला फायरफक्समा राम्रोसँग काम गर्ने उल्लेख गरिएको प्रणालीलाई अब विभिन्न ब्राउजरबाट प्रयोग गर्न सकिने महानिर्देशक भूसालले बताए।
उनका अनुसार नयाँ प्रणालीमा लगइन गरेपछि विगतको तुलनामा मेनु र मोड्युल प्रयोग गर्न सहज बनाइएको छ । पुरानो प्रणालीमा नयाँ विवरण भर्दा वा अर्को मोड्युलमा प्रवेश गर्दा पटक–पटक लगइन र लगआउट गर्नुपर्ने, त्रुटि देखिने तथा धेरै समय लाग्ने समस्या रहेकोमा नयाँ प्रणालीले ती समस्या समाधान गर्ने अपेक्षा गरिएको छ।
नयाँ पोर्टलमा अन्तःशुल्कसम्बन्धी विवरण करदाता स्वयंले रुजु गर्न सक्ने व्यवस्था गरिएको छ । यसअघि आन्तरिक राजस्व कार्यालयले रुजु गरेपछि मात्र अन्तःशुल्क विवरणको रुजु हुने व्यवस्था थियो।
त्यस्तै, आय विवरणका डि–फोर फारमको अनुसूची १० मा आवश्यक पर्ने प्रणालीभित्रकै सम्बन्धित विवरण अब स्वतः भरिने व्यवस्था गरिएको छ। यसबाट करदाताको समय बचत हुनुका साथै विवरणमा हुने ‘मिसम्याच’को सम्भावना कम हुने विभागको अपेक्षा छ ।
नयाँ प्रणालीमा स्रोतमा करकट्टी (ई–टीडीएस) सम्बन्धी विवरणलाई पनि कानुनी व्यवस्थाअनुसार मासिक रूपमा अनिवार्य गरिएको छ । महानिर्देशक भूसालका अनुसार यसअघि आर्थिक वर्षको अन्त्यसम्म ई–टीडीएस दाखिला नगरी रकम होल्ड गर्ने तथा पछि एकमुष्ट रूपमा विवरण प्रविष्ट गर्ने प्रवृत्ति रहेको थियो ।
उनले नयाँ प्रणालीले यस्तो अभ्यास र सम्भावित हेरफेरलाई निरुत्साहित गर्ने बताए । कानुनअनुसार ई–टीडीएस कट्टी गरिएको रकम अर्को महिनाको २५ गतेभित्र दाखिला गर्नुपर्ने व्यवस्थाअनुसार नै प्रणालीलाई मिलाइएको उनले जानकारी दिए।
‘अब टीडीएस अनिवार्य रूपमा कानुनले तोकेको समयभित्र सरकारी कोषमा दाखिला गरी प्रणालीमा प्रविष्ट गर्नुपर्ने व्यवस्था गरिएको छ,’ उनले भने।
उनका अनुसार यसबाट ईटीडीएस कट्टी भए पनि कट्टी गर्ने निकायले समयमा प्रणालीमा विवरण प्रविष्ट नगर्दा भुक्तानी पाउने व्यक्ति वा संस्थाले कार्यालय धाउनुपर्ने समस्या पनि कम हुनेछ । तोकिएको समयभित्र प्रणालीमा विवरण नदेखिए सम्बन्धित करदाताले प्रश्न गर्न सक्ने आधारसमेत बन्ने उनले बताए।
नयाँ पोर्टलमार्फत विदेशी लगानीकर्ताले स्थायी लेखा नम्बर (प्यान) दर्ताका लागि समेत निवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यो सुविधा पुरानो प्रणालीमा उपलब्ध थिएन।
यसैगरी करदाताले प्यान प्रमाणपत्र, अन्तःशुल्क इजाजतपत्र र करचुक्ता प्रमाणपत्र आफैं प्रणालीमा लगइन गरी डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।
मूल्य अभिवृद्धि कर (भ्याट) विवरणमा गल्ती भएमा करदाताले सात दिनभित्र आफैं संशोधन गर्न सक्ने सुविधा पनि नयाँ प्रणालीमा थपिएको छ। यसअघि सामान्य त्रुटि सच्याउनसमेत करदाता कार्यालय धाउनुपर्ने अवस्था रहेको थियो।
‘कहिलेकाहीँ एउटा शून्य बढी इन्ट्री हुँदा पनि विवरण सच्याउन कार्यालय धाउनुपर्ने अवस्था थियो। अब करदाताले सात दिनभित्र आफैंले आफ्नो विवरण रुजु गरेर गल्ती भए सच्याउन सक्नेछन्,’ भूसालले भने।
उनले नयाँ प्रणालीलाई करदातामैत्री, स्थिर र समय बचत गर्ने प्रणालीका रूपमा विकास गरिएको बताए। पटक–पटक लगइन र लगआउट गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी प्रणालीमा सुधार गरिएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।