काठमाडौं– प्रहरीले भन्सार छली गरेर काठमाडौं ल्याइएको ठूलो परिमाणको सुर्तीजन्य पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिनाको सुर्तीजन्य पदार्थ बरामद गरेको हो।
प्रहरीका अनुसार रौतहटबाट काठमाडौं आउँदै गरेको बा.प्र.०१–०३० च ०८३३ नम्बरको गाडी फर्पिङस्थित प्रहरी कार्यालयबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त सामान फेला पारेको थियो।
गाडीबाट करिब ४ हजार ४८० प्याकेट पान मसला बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामानको अनुमानित मूल्य ३४ लाख २२ हजार १८२ रुपैयाँ रहेको छ।
प्रहरीले उक्त सामानसहित रौतहट, बोधीमाई नगरपालिका–७ घर भई काठमाडौं कपन बस्दै आएका २३ वर्षीय चन्दन जैसवाललाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका जैसवाललाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।