रौतहट– बाराको कलैया उपमहानगरपालिका–१ स्थित कट्टी पर्सा टोलबाट २ वर्षीया बालिका बेपत्ता भएकी छन्।
स्थानीय मुकेश मण्डलकी अन्दाजी २ वर्षीया छोरी बिन्दी मण्डल शनिबार साँझ ५ बजेदेखि बेपत्ता भएकी हुन्। बालिका हराए लगत्तै परिवार र स्थानीयवासीले खोजी गरे पनि फेला नपरेपछि जिल्ला प्रहरी कार्यालय बारालाई खबर गरिएको थियो।
घटनाको गम्भीरता र संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवर सहितको सुरक्षा निकायको टोली कार्यक्षेत्रमा खटिएको छ। बालिका हराएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी प्रमुख एसपी कुँवर आफैँ टोली लिएर घटनास्थल पुगेका छन्।
खोजी कार्यलाई थप प्रभावकारी र प्राविधिक रूपमा सुदृढ बनाउन नेपाल प्रहरीको विशेष टोली र तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको छ। प्रहरी टोलीले कट्टी पर्सा टोल, यसका वरपरका क्षेत्र, सम्भावित गल्लीहरू र झाडीहरूमा सघन रूपमा खानतलासी गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।